‘निजी क्षेत्र संकटमा छ, तत्कालै ब्याजदर एकल अंकमा झार्नुपर्छ’
वि.सं.२०७९ पुस १८ सोमवार ०९:३७
shares

अहिले नयाँ सरकार आएसंगै सम्पूर्ण निजी क्षेत्रमा थोरै भएपनि आश पलाएको छ । भर्खरै अर्थमन्त्रीको पदमा आएका विष्णु पौंडेलले अर्थतन्त्रमा सुधार ल्याउने छन् भन्ने आश आम उद्योगी व्यवसायीहरुको रहेको छ ।
यस्तै निजी क्षेत्रको नेतृत्वका लागि व्यवसायीहरुको भागदौड भईरहेका बेला अब नेतृत्व कस्तो आउनुपर्छ विषयमा आधारित रहेर उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका केन्द्रीय सदस्य विजय कुमार साहसंग केटिएम भ्वाइसकर्मी युकला पौडेलले गरेको कुराकानी सम्पादित अशः
अहिले उद्योग व्यवसायको अवस्था के कस्तो छ ?
उद्योग व्यवसायको अवस्था एकदम नाजुक रहेको छ । व्यवसायीहरु मर्कामा रहेका छन् । अब अझै पिडामा रहेको भनेको साना व्यवसायीहरु हुन् । उनीहरुका समस्या कसैले बुझ्न खोज्दैन । ठुला उद्योगीहरु त आफैं सरकारको पहुँचमा रहेका छन् । आफैं बैकहरुको संचालक रहेका छन् उनीहरुलाई त कुनै प्रकारको समस्या नै छैन । मर्ने तर हामी जस्ता साना व्यवसायीहरु न हो सामान किन्ने पैसा छैन ।
कही कतैबाट लोन लिन सक्ने अवस्था पनि छैन । लोन पाए पनि ब्याज यति धेरै बढाएको छ कि हामीले ब्याज नै तिर्न सक्दैनौ । व्यवसाय चलायमान छैन भनेजति व्यापार हुदैन । व्यवसायीहरुका पिडालाई कसैले ध्यान दिदैनन् । कतिपय व्यवसायहरु त बन्द नै भईसके । व्यवसाय ५० प्रतिशतभन्दा तल झरेको छ । त्यसैले व्यवसायको अवस्था खराब रहेको छ
केही समयबाट बन्द रहेको आयातलाई सरकारले खुला गरेको यसले केही प्रभाव पादैन ?
आयातले ठुला व्यापारीहरुलाई केही सहज होला तर हामीलाई भने केही प्रभाव पार्दैन । हामीलाई त अझ हामीले बेच्ने सामानभन्दा सस्तोमा साामान किन्ने र बेच्ने गर्छन । बाहिरबाट सामान ल्याउनेहरुले त्यसले गर्दा अझ अप्ठ्यारो पर्छ हामीलाई त ।
अहिले व्यवसाय संचालनका लागि केके कठिनाईहरु रहेका छन् ?
अहिलेको सबैभन्दा ठुलो समस्या भनेको पैसाको अभाव हो । बैंकहरुले बढाएको ब्याजदरले गर्दा व्यवसायीहरु आक्रान्त बनेका छन् । यस्तो अवस्थामा सबैतिर तरलताको अभाव रहेको छ ।
यसले गर्दा व्यवसाय चलायमान हुन सकेको छैन । समान नबिक्ने एउटा समस्या त अर्को सामान नै राख्न नसक्ने अर्को समस्या रहेको छ । कान्छेहरुले अत्यावश्यक सामानहरु पनि खटाएर खरिद गर्न थालेका छन् । मिति तोकिएका सामानहरु नबिकेर यत्तिकै खेर फाल्नुपर्ने अवस्था आएको छ । यस्ता धेरै समस्याहरु रहेका छन् ।
अब सरकारले वा राष्ट्र बैंकले के गर्यो भने चाँहि व्यवसायीहरुलाई सहज हुन्छ ?
सबैभन्दा पहिले त बैंकको ब्याजदरलाई सिंगल नम्बरमा ल्याउनुपर्यो । देशका ठुला व्यापारीलाई मात्र नभई सम्पूर्ण क्षेत्रका उद्योगी व्यवसायीहरुलाई समेट्न सक्ने खालको निति नियमहरु बनाउनुपर्यो । नियम बनाएर मात्र भएन त्यसलाई कार्यानयन गर्नुपर्यो ।
राज्यलाई निरन्तर खबरदाी गरिरहेका छौ हाम्रो मागहरु पुरा हुन भनेर अहिलेसम्म भएको छैन । हामी सडकमै नआएपनि मौन आन्दोलनहरु गरिरहेका हामी मर्कामा छौ भनेर । व्यवसायीलाई लोन लिनमा पर्ने कठिनाईहरुलाई संसोधन गर्नुपर्यो । व्यवसायीहरुलाई सहज ढंगले व्यवसाय संचालन गर्ने वातावरण सिर्जना गर्नुपर्यो ।
अब आउदै गरेको एफएनसीसीआईको चुनावमा कस्तो नेतृत्व आउनुपर्छ ?
अब आउने नेतृत्व अहिलेको भन्दा पनि राम्रो आउनुपर्छ । अहिलेको अध्यक्षले पनि राम्रोसंग नेतृत्व सम्हाल्नुभएको छ । अब आउने अध्यक्ष चन्द्र ढकालले पनि राम्रो सम्हाल्नुहुन्छ भन्ने आशा गरेका छौ । छोटो समयमा शेखर गोल्छाले गरेका कामहरुले सार्थकता पाउन् त्यही बाटोबाट चन्द्र ढकालले पनि नेतृत्व सम्हाल्नुहुन्छ भन्ने लागेको छ ।
किनभने उहाँ पनि व्यवसायलाई राम्रोसंग बुझ्नुभएको मान्छे हो । व्यवसायीका समस्याहरुलाई नजिकबाट नियाल्नु भएको छ । समस्याहरु केके छन् बुझनुभएको छ । त्यसैले अबको चुनौती भनेकोे वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको हो । त्यसमा पनि राम्रै व्यक्तिहरु आकांक्षी भएको देखिन्छ ।
अबको नेतृत्व पनि राम्रो हुन्छ भन्ने मलाई लागेको छ । अब आउने नेतृत्वले पनि अहिलेको भन्दा राम्रो काम गरोस। अहिले आएका नयाँ अर्थमन्त्रीसंग समन्वय गरेर व्यवसायीका हितका लागि काम गरोस भन्ने चाहना छ ।








