‘सरकारी नीति र बैंकको ब्याजदरका कारण कतिपय उद्योग बन्द भइसके’
वि.सं.२०७९ पुस ९ शनिवार ०६:५५
shares

काठमाडौं, १५ मंसिर । तरलता अभावले अहिले समग्र क्षेत्र निकै अफ्ठ्यारो अवस्थामा रहेको छ । नयाँ उद्योग कलकारखाना खुल्न सकेका छैनन् भने पुराना समेत बन्द हुने अवस्थामा रहेका छन् । पछिल्लो समय बैंकले बढाएको चर्को ब्याजदर अनि सरकारी निकायहरुले लयाएका विभिन्न नीति नियमका कारण निजी क्षेत्रले असहज अवस्थाको सामना गरिरहेको छ । व्यवसायीले भोग्नु परेका समस्या र महासंघको आगामी नेतृत्वका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारीणी समिति सदस्य सहनलाल प्रधानसँग केटिएम भ्वाइसकर्मी युकला पौडेलले गरेको कुराकानीको सम्पादित अंश :
अहिले उद्योग व्यवसायको अवस्था कस्तो छ ?
अहिले व्यवसायीहरुको अवस्था निकै नाजुक रहेको छ । व्यवसायीहरुलाई खुल्ला रुपमा काम गर्ने वातावरण छैन । नेपाल राष्ट्र बैंकले अपनाएको नीति वा सरकारले विभिन्न समयमा ल्याएको व्यवसायीलाई समस्या पर्ने नीतिका कारण व्यवसायीहरु ठूलो मर्कामा परेका छन् ।
नयाँ व्यवसाय सञ्चालनको त कुरै नगरौँ चलिरहेको व्यवसायलाई पनि सञ्चालन गर्न गाह्रो भइरहेको छ । अहिले चलिरहेका केही उद्योगहरुमा पनि कच्चा पदार्थ पर्याप्त मात्रामा छैन् । जसबाट उत्पादन गर्न सक्ने क्षमता अनुसारको उत्पादन समेत भएको छैन् ।
सरकारले बढाएको अत्याधिक ब्याजदरका कारण विदेशी सामानसँग प्रतिस्पर्धा गर्न समेत नेपाली व्यवसायीहरुले सकेका छैनन् । एक तर्फ उत्पादनको क्षमता कम थियो भने अर्को तर्फ कच्चा पदार्थको अभावले उत्पादन शुन्य नै रहेको छ । सरकार र बैंकहरुले गरको ज्यादतीका कारण अहिले कति वस्तुको उत्पादन नै बन्द हुने अवस्था सिर्जना भएको छ ।
आयात प्रतिस्थापन गर्ने भनेको छ अनि स्वदेशी उत्पादन हुने क्षेत्रलाई निरुत्साहित बनाउने काम गरेको छ । यसले गर्दा निजी क्षेत्रको अवस्था एकदमै नाजुक बनिरहेको छ । यो अवस्था जारी रहेको खण्डमा राज्य सञ्चालनमा समेत समस्या आउने निश्चित छ ।
अहिलेको कठिन अवस्थामा व्यवसाय कसरी चलाइराख्नु भएको छ ?
अहिले कतिपय व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गरेर बसेको अवस्था छ । कतिपय बन्द हुने अवस्थामा पुगेका छन् । केही समय पर्कदा सहज हुन्छ कि भन्ने आसमा रहेका व्यवसायीहरुलाई पनि अहिले थग्नै गाह्रो भइरहेको अवस्था छ । अहिले राज्यले आयातमा कडाइ रहेको छ ।
आयात लगाएको प्रतिबन्धका कारण सवारीसाधनका सोरुमहरु बन्द भईसकेका छन् । अहिले नेपालमा बन्ने सवारी साधन कमै मात्रामा रहेका छन् । अनि बाहिरबाट ल्याउने वस्तुमा अत्याधिक कर लाउने त्यहीमाथि सामान ल्याउन नपाउने अवस्थाले गर्दा व्यवसायीको रोजीरोटी नै गुम्ने अवस्था सिर्जना भयो ।
यो अवस्थाले यो क्षेत्रमा संलग्नहरुले रोजगारी समेत गुमाउनु परेको छ । यो प्रतिबन्ध कायम रहेको खण्डमा यस्तो संख्या अझै बढ्ने देखिन्छ । यसका लागि सरकारले समयमै कदम चाल्न जरुरी देखिन्छ । यस्तो विषयलाई समयमै संबोधन गर्न सकिएन भने देश दुर्घटनामा जाने अवस्था सिर्जना हुन्छ । नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावलाई सरकारले ध्यान दिन सकेन भने अवस्था भयाभह हुने देखिन्छ ।
ब्याजदरको विषयलाई लिएर व्यवसायीहरु सडकमा आउनु पर्ने अवस्था कसरी आयो ?
हामीले सुरुबाट भनेको कुरा ब्याजदर एकल अंकमा हुनु पर्यो भन्ने हो । केही समय अघि ७–८ प्रतिशत रहेको ब्याजदर अहिले दोब्बर पुगेको छ । जसले व्यवसायीहरु निकै मारमा परेका कारण सडक मै आउनु पर्ने अवस्था आएको हो ।
अहिले बैंकको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ । यो व्यवसायीहरुको घाँटी न्याक्ने भयो यसलाई एकल अंकमा ल्याउन आवश्यक छ । निक्षेपमात्र जम्मा गरेर ब्याजदर बढाउनु त्यति फलदायी हुँदैन । त्यसले गर्दा सबैलाई सहज हुने वातावरणको सिर्जना गर्नुपर्यो ।
देशमा नै रोजगारी सिर्जना नगरी वा नेपालमै उद्योग व्यवसायको वातावरण निर्माण नभएसम्म आयात प्रतिस्थापन सम्भवन नै छैन् । आयात प्रतिस्थापन गर्ने भनेर मात्रै पुग्दैन । त्यसका लागि त उत्पादन पनि हुनु पर्यो । देशमा उत्पादन बढाउन नसकेको अवस्थामा आयात प्रतिस्थापन गर्ने भन्ने कुरा दिवा सपना हुन्छ ।
राज्यले कसरी हुन्छ देशमा धेरैभन्दा धेरै उद्योग कलकारखाना खोल्ने वातावरण निमार्ण गर्नु पर्ने हुन्छ । अहिले बढेको ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन् । त्यसैले तत्काल एकल अंकको ब्याजदर कायम गर्नु पर्ने आवश्यकता देखिन्छ ।
बैंकको ब्याजदर बाहेक निजी क्षेत्रमा देखिएका अरु समस्याहरु के–के छन् ?
बढेको ब्याजदर बाहेक अरु पनि धेरै समस्या छन् । अहिले वास्तवमा उद्योग खोल्नकै लागि पनि सकस छ । सरकारले ल्याएको नीतिका कारण व्यवसायहरुलाई सानो उद्योग खोल्नकै लागि पनि विभिन्न तह वा सरकारी निकाय धाउदै ठीक्क हुन्छ ।
एउटा सानो काम सक्नका लागि महिनौ लाग्ने गरेको छ । यी नियमहरुलाई सहजीकरण गर्दै वान डोरबाट काम हुनुपर्छ भन्ने व्यवसायीको माग हो । त्यस्तै सरकारले व्यवसायीका लागि खासै काम गरेको देखिदैनन् । जबसम्म राज्यले उद्योगी व्यवसायीलाई सम्मान गर्न सक्दैन् तब सम्म देश बन्दैन् ।
व्यवसाय गर्ने व्यक्तिहरुलाई राज्यले प्रोत्साहन गर्ने र सेवा सुविधा दिन सकेको खण्डमा थप उद्योग खुल्ने र रोजगारी समेत सिर्जना हुन सक्छ । सरकारी झन्झटीलो प्रक्रियालाई सहज बनाइदिएको खण्डमा मात्रै सहज रुपमा उद्योग खोल्नका लागि व्यवसायीहरु उत्साहीत हुने थिए ।
अहिले राज्यले व्यवसायीहरुलाई प्रोत्सहन होइन हत्तोत्साहित गर्ने काम गरिरहेको छ । यसबाट न उद्योग खुल्छन् नत रोजगारी नै सिर्जना हुन्छ । यस्तो अवस्थामा घाटा हुने भनेको राज्यलाई नै हो ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकीदै छ । कस्तो नेतृत्वको अपेक्षा गर्नु भएको छ ?
आगामी कार्यकालका लागि अध्यक्षमा स्वत अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल जादै हुनुहुन्छ । महासंघले जिल्ला नगरका समस्यामा ध्यान नदिएको गुनासो आइरहेको छ । अब आउने नेतृत्वले त्यस्ता गुनासाहरुलाई समेट्न सक्नु पर्ने हुन्छ । अहिले देखिएको गुनासो समाधान गर्न सक्ने नेतृत्व आउन जरुरी छ ।
ठूला समस्यालाई मात्रै समस्या मान्ने भन्दा पनि व्यवसायीले भोगेका साना समस्यालाई पनि सम्बोधन गर्न सकेको खण्डमा राम्रो हुने देखिनछ । सबै व्यवसायीका लागि आफ्नो समस्या निकै ठूलो लाग्छ । साना व्यवसायीका लागि सानो समस्या नै ठूलो हुन्छ । त्यसको समाधानका लागि पनि माहासंघले आवश्यक पहल गरिदिएमा व्यवसायीलाई राहत हुने थियो ।
आफ्नो क्षेत्रमा भएका साना समस्याहरुको पनि समाधान गर्न नसकेर धेरै व्यवसायीहरु चिन्तामा हुन्छन् । त्यो कुरालाई पनि बुझ्न सक्नुपर्यो । अबको नेतृत्व जिल्ला नगरबाट गएको भयो भने सहज होला जस्तो लाग्छ । त्यो नभएपनि जिल्ला नगरमा भएका उद्योगी व्यवसायीहरुको समस्याहरुलाई नजिकबाट नियालेको हुनुपर्छ । त्यसले गर्दा साना व्यवसायीका समस्या समेत समाधानका लागि महासंघले पहल गर्न सकोस् ।
अहिलेको नेतृत्वले जिल्ला नगरका व्यवसायीहरुको समस्या समेट्न नसके हो ?
अहिले जो–जो नेतृत्वमा हुनुहुन्छ उहाँहरु सबैको आफ्नै व्यवसाय छ । सबैको व्यवसाय काठमाडौं केन्द्रित भएका कारणले उहाँहरु काठमाडौं नै बस्नुहुन्छ । सिमित मात्रामा काठमाडौं बाहिरका साथीहरु हुनुहुन्छ । यो कारणले उपत्यका बारिहरको समस्याका विषयमा महासंघको नेतृत्वले ध्यान नदिएको जस्तो लाग्छ ।
हुन त उद्योग वाणिज्य महासंघ आफैले नीति निर्माण गर्ने संस्था त होइन । तर पनि संघले नै व्यवसायीका पिडा र कष्टहरुलाई स्पष्ट रुपमा नबुझाएको जस्तो लाग्छ मलाई । आफुनो व्यवसाय लक्षित नीति निर्माणको कारणले गर्दा साना व्यवसायीहरु मारमा परेका छन् । सबै व्यवसायीलाई लाभ हुने गरी महासंघले पहल गर्नु पर्ने देखिन्छ ।
महासंघको नेतृत्वले गर्नु पर्ने काम गरेकै छ । तर उपलब्धी भने देखिएको छैन् । जबसम्म उपलब्धी देखिदैन तबसम्म काम गरेको के अर्थ भयो र । तसर्थ उपलब्धी मुलक काम गर्नु पर्ने देखिन्छ ।
व्यवसायीका समस्या समाधानका लागि महासंघले के गर्नु पर्छ ?
महासंघको नेतृत्वमा जानेहरुमा व्यवसायीलाई कुन दिशामा लैजाने भन्ने विजन हुन आवश्यक छ । चाहेको खण्डमा गर्न नसक्ने भन्ने हुँदैन् । तर भिजनको अभाव देखिए जस्तो लाग्छ । सबै व्यवसायीलाई समेटेर अर्थतन्त्रको नेतृत्व महासंघले गर्नु पर्ने आजको आवश्यकता हो । महासंघको नेतृत्वमा पुगेपछि गर्ने कामको योजना र लक्ष्य सहित नेतृत्व अगाडि बढेको खण्डमा सहज रुपमा सफल हुने र व्यवसायीका लागि पनि निकै फलदायी हुने अपेक्षा गर्न सकिन्छ ।








