‘मल्टिफाइब’ सम्झौता नविकरण नभएसँगै पलायन भए तयारी पोशाक व्यवसायी

3.29K
shares
Krishi Bikas Bank

काठमाडौं, २२ मंसिर । नेपालबाट सन् १९८० को दशकमा निकै धेरै मात्रामा तयारी पोशाक निर्यात हुने गरेको थियो । विदेशमा नेपाली पोशाकको माग अत्याधिक हुने गरेको थियो । तर पछिल्लो समय नेपालबाट निर्यात हुने तयारी पोशाकमा भारी मात्रामा गिरावट आएको छ । तयारी पोशाक व्यवसायीको अवस्था र विदेश निर्यातको अवस्था तथा व्यवसायीका समस्यामा विषयमा नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपति देव पाण्डेसँग केटिएम भ्वाइसकर्मी महेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय तयारी पोशाकको व्यापार कस्तो छ ?

अघिल्लो आर्थिक वर्षकोभन्दा गत आर्थिक वर्षमा केही सुधार भएको अवस्था छ । तर समग्रमा तयारी पोशाक व्यवसाय निकै दयनीय अवस्थामा नै पुगेको देखिन्छ । यो पेशाबाट व्यवयाीहरु पनि पलायन भइसकेको अवस्था छ ।

कोभिड नियन्त्रणमा आएका कारण निर्यात बढ्दा झिनो मात्रामा निर्यात बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा करिब ५ अर्बको निर्यात भएको तयारी पोशाक गत आर्थिक वर्षमा करिब ७ अर्बको हाराहारिमा निर्यात भएको छ । यसमा अझ बढ्न सक्ने अवस्था देखिएको भए पनि ब्याजदर लगायतका कारण त्यसो हुन सकेन ।

यो अवस्थालाई राम्रो भन्न सक्ने अवस्था त होइन् । अघिल्लोभन्दा केही सुधार भएको मात्रै हो । ८० को दशममा ४० अर्बको निर्यात गर्ने गरिएको थियो । त्यो तुलनामा अहिलेको त कत्ति पनि होइन् । सन् २००५ बाट घट्दै गएर २ अर्ब सम्म पनि पुगेको अवस्था थियो । अहिले पुनः बढेर ७ अर्ब सम्म पुगेको अवस्था हो । कच्चा पदार्थका मूल्य बढेको र डलरको मूल्यका कारण पनि केही सुधार भएको हो । सन् २००५ मा १ हजार २०० वटा उद्योग रहेको अवस्थामा अहिले ६५ वटा मात्रै तयारी पोशाकका उद्योग रेहका छन् । यो तथ्यलाई हेर्दा यो पेशामा रहेकाहरु पलायन भएको प्रष्टै हुन्छ ।

तयारी पोशाकका व्यवसायमा देखिएका समस्याहरु के–के हुन् ?

अहिले सबै व्यवसायका लागि मुख्य समस्या भनेको बढेको ब्याजदर र तरलता अभाव हो । त्यो बाहेक हामी महंगा पनि भयौँ । अरु देशको सामान सस्तो हुन्छ हाम्रो महंगो भएका कारण विदेशीहरु आकर्षित हुन सकेका छैनन् ।

विदेशीहरुले नेपाललाई असाध्यै मन पराउने भए पनि मूल्य महंगो भएको गुनासो गर्ने गरेका छन् । अरु मुलुकमा सस्तोमा पाइने सामान पनि नेपालमा महंगो पर्ने गरेको भन्दै विदेशीहरुले गुनासो गरिरहेका छन् । यस्तो हुनुको कारण कर बढी लगाएका कारण यस्तो भएको हो ।

नेपालमाभन्दा भारत, थाइल्याण्ड, इन्डोनेसिया लगायत मुलुकमा बनेका सामानको मूल्य सस्तो पर्ने भएकाले पनि नेपाली सामानको माग बढ्न नसकेको अवस्था छ । गुणस्तर राम्रा भए पनि मूल्य बढी भएका कारण पनि केही मात्रामा व्यवसायमा समस्या भइरहेको छ । बंगलादेश लगायत देशले उत्पादन गरेको सामानमा कर छुटको व्यवस्था छ । तर नेपालमा उत्पादन भएको पोशाकमा कर लगाएका कारण पनि व्यापार घट्दो क्रममा गएको छ ।

२००५ मा १२०० उद्योग रहेकोमा अहिले ६५ को हाराहारीमा पुग्ने अवस्था कसरी आयो ?

यस्तो हुनुमा अमेरिकासँगको मल्टिफाइब सम्झौता अन्तर्गत नेपालाई छुट दिइएको थियो । त्यसलाई नविकरण गर्न सकिएन जसका कारण नेपाली उद्योगीहरु पलायन हुने अवस्था सिर्जना भयो । सन् २००५ मा यो सम्झौता सकिए पछि उद्योगीहरु पलायन हुन थाले । यस तर्फ राज्यको पनि ध्यान जान सकेन । जसले गर्दा नविकरण गर्न सकिएन ।

अर्को तर्फ राजनीतिक उथलपुथलका कारण पनि व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भयो । राज्यले नै वस्तु निर्यातभन्दा पनि व्यक्ति निर्यात गर्ने नीति लियो । हाम्रो राज्य नै वस्तु निर्यात गरेर आर्जन गर्नेभन्दा पनि आयत गरेको वस्तु बिक्री गरेर त्यसमा कर लगाए रमाएको अवस्था देखियो ।

व्यवसायीका हकहितका लागि कसैले पनि बोलिदिएन । व्यवसाय बढाउने तर्फ कसैको पनि ध्यान जान सकेन । स्वदेशमा रोजगारी सिर्जना गर्ने तर्फ कसैको पनि ध्यान जान सकेन् । नेपाल जस्तो देशले वस्तु निर्यात गर्नु पर्ने हो । पछिल्लो समय नेपालले भारतमा विद्युत निर्यात गरिरहेको छ । बंगलादेशमा पनि निर्यात गर्ने कुरा चलिरहेको छ । यो निकै राम्रो हो ।

यो क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

यो क्षेत्रका लागि नेपालमा दक्ष जनशक्तिको अभाव पनि छैन् । तर समस्या भनेको नेपालमा काम गर्नका लागि व्यक्तिहरु इच्छुक देखिदैन् । कामदारको अभाव छ । सिप सिकेर विदेश जाने परिपार्टी बढेको छ । जसले गर्दा काम गर्ने व्यक्ति पाउन समस्या छ । तर विदेशबाट कालिगढ ल्याएर काम गर्नु पर्ने अवस्था भने छैन ।

दक्ष जनशक्तिका लागि विदेशबाट फर्किनेहरुको तथ्यांक राख्नका लागि आवश्यक देखिन्छ । त्यसका लागि विमानस्थलमा डाटा संकलन गर्ने डेक्स राख्न सरकारलाई आग्रह गर्दै आएका छौँ । यदि त्यसो गर्न सकियो भने विदेशबाट आउने व्यक्तिले सिकेर आएको सिपको विषयमा जानकारी हुने र श्रमिक खोज्नका लागि पनि समस्या हुने थिएन ।

हाम्रोमा अर्को समस्या भनेको मूल्य बढी र सेवा सुविधा कम हुनु हो । यो बाहेक अरु कुरामा नेपाली वस्तु राम्रो रहेको छ । यसो हुनुमा हामीले कर छुट पाउन नसक्नु पनि हो । मैले पछिल्लो सयम बजार सहितको विदेशी लगानी भन्ने कुरालाई अगाडी सारिरहेको छु ।

नेपालका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले के गरिदिए तपाइहरुलाई अझ सहज हुने थियो ?

महासंघले काम नगरेको भन्ने होइन । काम गरेको अवस्था छ । हामीले पनि घच्घच्याउने काम गरेका छौँ । उहाँहरुले पनि गरिनै रहनु भएको छ । महासंघ योभन्दा पनि सशक्त बन्नु पर्ने आवश्यकता देखिन्छ ।

राज्यले बजेट ल्याउँदा सुझाब दिने र सुभकामना दिनेमात्रै भन्दा पनि व्यवसायीका लागि काम गर्नु पर्ने आवश्यकता देखिन्छ । बजेटको स्वागत गर्नेभन्दा पनि त्यस भित्रका राम्रा र नराम्रा कुरालाई केलाएर राज्यलाई सुझाब दिन सक्ने हुनु पर्‍यो महासंघ भनेको । निजी क्षेत्रका सबैभन्दा ठूलो सञ्जाल भएकाले पनि महासंघसँग धेरै आशा गरिन्छ ।

व्यवसायीका विषयमा राजनीतिक गर्ने व्यक्तिहरुलाई जानकारी हुँदैन् । त्यसका लागि सल्लाह सुझाब पनि महासंघले दिनु पर्छ । उद्योग र उद्योगीका विषयमा जानकार नभएका मन्त्रीहरुलाई समेत महासंघको नेतृत्वले सल्लाह दिने क्षमता राख्नु पर्छ ।

अहिले वर्किङ क्यापिटलमा २० प्रतिशत भनिएको अवस्था छ । यो अवस्थामा कुनै पनि निर्यात जन्य उद्योगले २० प्रतिशत लोन पाएर काम गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा कसरी निर्यात हुन्छ । यो संसारमा कतै पनि नभएको कुरा हो ।

महासंघको आगामी नेतृत्व कस्तो आउनु पर्छ ?

नेतृत्व युवा हुनु पर्छ भन्ने हो । तर त्यसो हुन सकेको छैन् । मैले मेरा पालमा चुनेको नेतृत्व मेरै पालामा अध्यक्ष बन्न पाउँदैन् । अर्को तर्फ आफूले चाहेको व्यक्तिलाई चुन्न नपाउने परिपाटी महासंघमा पनि रहेको छ । वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने सिस्टम छ । यसलाई परिवर्तन गर्नु पर्छ भन्ने मेरो विचार हो ।

कमोडिटि मार्केटभन्दा पनि उत्पादन क्षेत्रमा लगाव भएको व्यक्तिहरुलाई नेतृत्वमा ल्याउन सकियो भने अझ प्रभाकारी हुन्छ कि भन्ने हो ।

अहिले महासंघले के गर्न सकने जुन कुरा अबको नेतृत्वले के गर्नु पर्छ ?

हरेक वस्तुगत र जिल्ला नगरका समस्या सुन्नका लागि छुट्टै हटलाइनको व्यवस्था गर्नु पर्छ जस्ता लाग्छ मलाई । त्यसका साथै राज्यलाई उद्योग व्यवसायका क्षेत्रमा देखिएका विभिन्न समस्याका विषयमा बुझाउन नसकेको जस्तो देखिन्छ । त्यसका लागि पनि पहल गर्न सक्नु पर्ने आवश्यकता देखिन्छ ।

त्यस्तै आयात रोकेर देशको अर्थतन्त्र चलायमान हुन सक्दैन भनेर पनि महासंघको नेतृत्वले बुझाउनु पर्ने देखिन्छ । आयात प्रतिस्थापनका लागि निर्यात बढाउन पर्नु आवश्यकता छ । आवश्यकता अनुसार चल्नु पर्छ । पहिलेका बच्चाहरु मोजामा कपडा हालेर भकुण्डो खेल्थे अहिलेका बच्चाहरुले त्यस्तो गर्दैनन् । फुटबल नै किन्नछन ।

राज्यसंग तपाईहरुको अपेक्षा के ?

राज्यले व्यवसायीलाई राम्रो नजरले हेरेर राम्रो व्यवहार गरिदिनु परो । सबै मिलेर काम गर्नु पर्ने अवस्था छ । राज्यले कुनै पनि व्यवसायीलाई भेदभाव गर्नु भएन् । यसका साथै राज्यले अन्य मुलुकमा व्यापारका विषयमा भएका सुधारका विषयमा जानकारी लिएर व्यवसायीलाई सहज हुने नीति बनाउनु पर्ने देखिन्छ । जसबाट समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ ।

विश्वका अन्य देशले व्यापारको विषयमा लिएका नीतिको अध्ययन गरेर व्यापार बढाउने तर्फ राज्यको ध्यान जान सक्ने हो भने अझ सहज हुने थियो । स्वदेशमा उत्पादन बढाउनका लागि लगानी मैत्री वातावरण सिर्जना गर्नु पर्ने हुन्छ । राज्यले सबै उद्योगीलाई समेट्ने गरी सुविधाहरु दिनु आवश्यक हुन्छ । यी सबैको तालमेल मिलाएर व्यवसायीलाई सुविधा दिनु पर्छ । व्यवसायी र राज्य दुवै पक्ष बच्ने गरी काम गर्नु पर्छ ।


Krishi Bikas Bank
franklin 1200*150