कर्णालीका स्थानीय तहमा छैनन् कर्मचारी

2.02K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ पुस । कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण सेवा प्रवाह प्रभावित भएको छ । समयमा कर्मचारीको व्यवस्थापन नहुँदा स्थानीय तहमा कर्मचारी अभाव भएको हो ।

प्रदेशका कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुँदा एक कर्मचारीले दुईवटा पालिकाको जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना भएको छ । दैलेखको भैरवी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले अहिले दुईवटा पालिकाको काम गर्दै आएका छन् ।

कर्मचारी पठाउन आग्रह गरेको र अहिलेसम्म कर्मचारी नपठाएको भैरवी गाउँपालिका सूचना अधिकारी केन्द्रबहादुर शाहीले बताए । उनले भने, “हामीले कर्मचारी अपुग भनेर भनेका छाैँ, प्रशासकीय अधिकृतले दुईवटा पालिकाको जिम्मेवारी लिएको छ ।”

प्रदेशका अन्य स्थानीय तहमा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् । चारवटा पालिका रहेको मुगुमा चारवटै पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । सरकारले दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न नसक्दा तल्लो तहका कर्मचारीलाई निमित्तमा राख्नुपर्ने बाध्यता छ ।

जिल्ला समन्वय समिति कार्यालय मुगुका प्रमुख मन्जनबहादुर कार्कीले भने जिल्लाका चारवटै पालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएकाले निमित्तको भरमा चलिरहेको बताएका छन् ।

छ वटा स्थानीय तह रहेको रुकुमपश्चिममा पनि तीनवटा नगरपालिकामा अधिकृत तहका कर्मचारी नहुँदा निमित्तकै भरमा सञ्चानल भइरहेका छन् । प्रदेशमा कतिपय मन्त्रालयका कार्यालयले पनि यस्तै समस्या भोग्दै आएका छन् ।

कर्णालीका दुर्गम क्षेत्रमा कर्मचारी जान नमान्ने प्रवृत्तिले पनि कतिपय स्थानीय तहमा कर्मचारीको अभाव खड्किएको हो । विकट जिल्लाका स्थानीय तहमा अझै पनि कर्मचारी नरहेको जनप्रतिनिधि बताउँछन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका उपसचिव रवीन्द्रजङ्ग थापाले अझै पनि कर्णालीका धेरै पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको भन्दै यसका लागि कार्यविधि बनाएर अघि बढ्ने तयारी भइरहेको बताए ।


Krishi Bikas Bank
franklin 1200*150