धार्मिकस्थलमा बाल श्रमिक : विद्यालय छोडेर घोडसवारी

1.75K
shares
Krishi Bikas Bank

तुलसीपुर, १२ पुस । रहर भए पनि रवीन बालक हुन् भन्ने हेक्का राख्नेहरु उनलाई देखेपछि घोडा चढ्न मन गर्दैनन् । केहीले उनलाई जिस्क्याउँछन् र भन्छन्– ‘यति सानो मान्छेले यति ठूलो घोडा डोर्याउन सक्छौ त ?’ केहीले रवीनलाई विभिन्न प्रश्नहरु सोध्दैथे ।

उनी निकै चलाख छन्, सोधेका प्रश्नको फटाफट उत्तर पनि दिन्छन्– ‘घोडा चढेर मन्दिरसम्म पुगेको कति हो ? तीन सय रुप्पे । फोटो मात्र खिचेको नि ? ५० रुप्पे । यहा“ मान्छे ल्याउने लैजाने गर्ने कतिवटा घोडा छन् ? सातवटा,  एक दिनमा कति कमाइ हुन्छ ? एक दिन ५ हजार पनि कमाइ भया हो, कहिले कत्ति पनि हुन्न । बुवाआमा के गर्नुहुन्छ ? बुवा लाहुर हुनुहुन्छ, आमा र म यहीं छम् । स्कुल नगएर किन काममा आएको त ? अघिपछि स्कुल जान्छु, शुक्रवार र शनिवार मात्रै हो यहा काम गर्ने ।’

गत शनिवार धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीको सवारी पार्किङ क्षेत्रदेखि मन्दिर परिसरसम्म तीर्थालुहरुको आवतजावत चलिरहेको थियो । सवारी पार्किङदेखि मन्दिरसम्म पैदल र घोडा चढेर पुग्न सकिन्छ । पैदल यात्रुका लागि सिढी मार्ग बनाइएको छ भने त्यही मार्गको छेउछेवै गोरेटो पनि छ, जो घोडा मार्ग हो । यही मार्गमा घोडा डोर्याएर उभिएका स्वर्गद्वारी नगरपालिका–३ खोलाखर्क प्यूठानका १२ वर्षिय रविन सुनार भेटिए । उनी भन्दै थिए– ‘घोडा चढेर मन्दिर जाने भए, फोटो खिच्ने भए यता आउनुस्, है ।’

यहाँको कमाइको भर नहुने, आफ्नो जमिनमा उब्जेको अन्नले मात्र नपुग्ने भएपछि बुवा र दाइ कमाउन भारत पुगेको रवीनले बताए । उनले भने– ‘बुवा र दाइ हुदा मैले यो काम गर्नु पर्दैनथ्यो । अहिले उहाँहरु लाहुर जानुभएको छ ।

त्यसैले आमा र म घोडा लिएर आउछम्, अलिअलि कमाइ पनि हुन्छ ।’ उनी मुसुक्क हासे । लाग्छ, रवीनको कलिलो दिमाग घोडसवारी गराउनमै खुशी छ । रवीनकी आमालाई पनि छोरा सानो छ भन्ने थाह छ । त्यसैले दिनभर त्यहीं बसेर छोरालाई सघाउछिन् हिसाब किताब गर्दिछिन् तर घोडा डोर्याएर तीर्थयात्रीलाई ल्याउने लैजाने काम काम चैं गर्दिनन् ।

उनी भन्छिन्, ‘छोरो मान्छे हो, यसैले गर्छ । यहीं घोडसवारी गराउने अरु आइमाइ छैनन्, सबै लोग्ने मान्छे मात्रै छन् ।’ बालक भए पनि रवीन त्यो काम गर्न प्रत्यक्ष वा अप्रत्यक्षरुपमा बाध्य छन् । किनकि उनी पुरुष हुन् रवीनकी आमाको कुरा सुन्दा लाग्छ, अप्ठ्यारो काम पुरुषले नै गर्नुपर्छ भन्ने सोंचबाट हाम्रो समाज अझै माथि उठ्न सकेको रहेनछ ।

यत्तिकैमा करिब ३५÷४० वर्षका पुरुष चढेको घोडा डोर्याउदै त्यहींनेर आइपुगे स्वर्गद्वारी नगरपालिका–३ डाडाखर्कका ११ वर्षीय भुवन सुनार । उनले पनि अघिपछि विद्यालय जाने अनि शुक्रवार र शनिवार बुवालाई सघाउन यहाँ आउने गरेको बताए । रवीन र भुवनले स्वर्गद्वारी नेरा आधारभूत विद्यालयको ५ र ६ कक्षामा मा पढ्छन् ।

विद्यालयका प्रधानाध्यापक बसन्त विष्टले भने रवीन र भुवन नियमित विद्यालय नआएको बताए । ‘उनीहरु नियमित विद्यालय आउदैनन् । रवीनको मंसिर महिनामा ५ दिन विद्यालय आएको छ । उ परीक्षाको बेलामा मात्र विद्यालय आउँछ । अघिपछि स्वर्गद्वारी मन्दिरमा आउने पर्यटकलाई घोडा चढाउन जादोरहेछ ।

त्यसको तुलनामा भुवन केही बढी विद्यालय उपस्थित हुन्छ ।’– उनले भने, ‘अभिभावकलाई बोलाएर सम्झायौं तर सुधार भएन । अभिभावकले आफूहरुले विद्यालय पठाए पनि उनीहरु जान नमान्ने बताउछन् । उनीहरुले दिनभरि घोडा ओहोरदोहोर गराउदा केही पैसा कामउछन् । पढाइ छोडेर त्यसैमा भुलेका छन् । गरिबी र अभिभावकमा चेतानाको अभाव हुँदा यो समस्या निम्तिएको हो ।’

उनीहरुले जानेर वा नजानेर, रहरले वा बाध्यता जेसुकै कारणले पनि गरेका होलान् तर बालबालिकालाई यस्ता जोखिमयुक्त काम लगाउन मिल्दैन । आफ्ना साना छोराहरुलाई यसरी काममा लगाउनु पर्ने अभिभावकका आफ्नै समस्या होलान् तर बालअधिकारका हिसाबले यस्ता काम गर्न बाध्य पार्नु वा प्रेरित गर्नु कानूनतः दण्डनीय हो ।

हुन त ती बालकहरुले घोडा सवारी गराउदै आएको स्वर्गद्वारी पुग्ने धेरै जसोले देखिरहेको कुरा हो तर एउटा बालक विद्यालय नगएर यस्तो जोखिमयुक्त काम किन गरिरहेको छ तर यसतर्फ न स्थानीय सरकार, न मन्दिर व्यवस्थापन समिति या बालअधिकारका क्षेत्रमा काम गर्ने निकाय कसैको पनि ध्यान पुग्न सकेको छैन । त्यसैले त बालश्रमिक मुक्त समाजको निर्माणको अभियानलाई रवीन र भुवनको यथार्थले गिज्याइरहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150