नेपाल भित्रिने रेमिट्यान्समा २० प्रतिशत बढिको वृद्धि
वि.सं.२०७९ मंसिर २९ बिहीवार १५:४१
shares

काठमाडौं, २९ मंसिर । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नेपाल भित्रने रेमिट्यान्स २०.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ७.० प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेख्य वृद्धि भएर ३७८ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ९५ हजार १९६ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७ हजार ४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले वृद्धि भई ४१७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा चालु खाता ३५ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२० अर्ब ९१ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १८.१ प्रतिशतले वृद्धि भई २ अर्ब ९७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड आएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड प्राप्त भएको थियो ।








