खेल्न रोक, आयातमा खुला, नीति गलतकी नियति ?
प्रतिबन्ध लगाएको समयमा पनि २ अर्ब बढिको तास आयात
वि.सं.२०७९ मंसिर २७ मंगलवार १५:०९
shares

काठमाडौं, २६ मंसिर । नेपालमा तास खेल्न प्रतिबन्ध छ । कुनै पनि व्यक्तिले जुवा तास खेलमा संलग्न रहेको अवस्थामा उसलाई कानुन बमोजिक कारबाही हुने व्यवस्था छ । नेपालमा तास खेल्न नपाउने भए पनि वर्षेनी अर्बौको तास आयात हुने गरेको छ ।
चाडपर्वको समयमा त दैनिकजसो प्रहरीले तास खेल्ने व्यक्तिहरुलाई पक्राउ गरिरहेको हुन्छ । तास खेल्न नपाइने भएपनि आयात गर्नमा भने नेपालमा छुट छ । नेपालबाट तास आयात मै अर्बौँ रुपैयाँ विदश गइरहेको छ । सरकारले विदासीताका वस्तु माथि आयातमा कडाइ पनि गरेको छ । तर आयात भने भइरहेको छ । आयातमा प्रतिबन्ध लागेको वस्तु कसरी आयात भइरहेको छ ? यो आफैमा अनौठो कुरा हो ।
सरकारले वैशाख महिनादेखि विभिन्न वस्तुको आयात प्रतिबन्ध लगायो । त्यसमध्ये तास पनि एक हो । अहिले पनि केही सामानको प्रतिबन्ध कायमै रहेको छ । आयातमा प्रतिबन्ध लगाएको समयमा पनि आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्बौँ रुपैयाँको तास आयात भएको तथ्यांक छ । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपाल सरकारले २ अर्ब २९ करोड बढिको खेल्ने तास आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
चाडपर्वको समयमा तास खेलेको भनेर प्रहरीले नगद रकम सहित ठूलो मात्रामा यो खेलमा संलग्न व्यक्तिहरुलाई निन्त्रयमा लिने गरेको छ । उनीहरुलाई जरिवाना गरेर छोड्ने समेत गरिएको छ । नेपाल सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै विभिन्न वस्तुको आयातमा कडाई गरेको थियो । त्यो व्यवस्थालाई पछिल्लो समय खुकुलो बनाउँदै लगेको सरकारले पुस १ गते देखि भने विभिन्न वस्तुमा लगाएको प्रतिबन्ध निर्णय गरेको छ । तर सरकारले नै खेल्न नपाउने र गैर कानुनी भनिएको क्षेत्रका लागि आयात भएका सामानहरु आयात नै नगरेको खण्डमा विदेशीने पैसा नेपालमा नै रहने थियो । डलर बचतका लागि तास आयातमा पूर्ण प्रतिबन्ध लगाएको खण्डमा डलरको बचत हुने देखि प्रहरीलाई पनि पक्राउ पर्ने आवश्यकता रहने थिएन् ।
यस विषयमा सम्बन्धित निकायले भने एक अर्कालाई देखाएर पन्छिन खोजेको देखिएको छ । भन्सार विभागले यो विषय उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले दिएको निर्देशनमा गरिएको बताएको छ भने मन्त्रालयले गृह तिर देखाएर पन्छिएको छ । गृहमन्त्रालय भने तास खेल्न नपाउने कानुन नै नभएको भन्दै सट्टा बाजी गर्न नपाउने मात्रै कानुन रहेको बताइरहेको छ । एक आपसमार समन्वय गरेर देशको विकासका लागि काम गर्नु पर्ने मन्त्रालय तथा विभाग नै एक अर्कालाई देखाएर पन्छिनु कत्तिको उपयुक्त हो ।
यता प्रहरीले भने तास खेल्नेलाई पक्राउ गर्नु आफ्नो दायित्व भएको भन्दै सरकारले नै आयात बन्द गरिदिएको खण्डमा यस्तो झमेला नहुने जबाफ दिइरहेको छ । यस्ता विषयमा सरकारी निकायहरुले एक आपसमा समन्वय गरेर काम गर्नु पर्ने आवश्यकता देखिन्छ ।
भन्सार विभागले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको निर्णयको कार्यान्वयन मात्रै गर्ने सूचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिए । ‘विभागले मन्त्रालयलबाट गर्न भनेर आएको निर्णय कार्यान्वयन गर्ने हो, कुन सामान ल्याउन वा नल्याउने विषय मन्त्रालयको हो,’ सूचना अधिकारी खड्काले भने । मन्त्रालयले जारी गरेको सूचना कार्यान्यन गर्ने निकायम मात्रै विभाग रहेको उनको भनाइ छ ।
राजस्व नलिएर कुनै सामान छोडियो भने मात्रै आफूहरु जबाफदेखि हुने, कुन सामान ल्याउने वा नल्याउने भन्ने विषय आफूहरुको नियन्त्रणभन्दा बारिह रहेको उनले बताए । यता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण प्रसाद रेग्मीले भने यो विषयमा गृहमन्त्रालसँग जानकारी लिन आग्रह गरे । वस्तु ल्याउने विषयमा त उद्योग मन्त्रालयले निर्णय गर्ने होइन र भन्ने प्रश्नमा उनले सम्बन्धित निकायले रोक्नका लागि जानकारी दिएमा रोक्न सकिने तर खोल्ने र प्रतिबन्ध लगाउन नसकिने गैर जिम्मेवारपूर्ण जबाफ दिए । ‘नियन्त्रणको विषय गृहमन्त्रालयको हो, गृहबाट रोक्नु परो भनेर पत्र आएमा हामीले रोक्छौँ,’ उनले भने ।
यता गृहमन्त्रालयका सह– सहसचिव प्रदीप कोइरालाले भने तास खेल्न नपाउने भन्ने विषयमा कानुनमा कतै पनि नलेखिएको बताएका छन् । कानुनमा सट्टाबाजी गर्न नपाउने भन्ने कुरा उल्लेख गरिएको भए पनि तास खेल्न नपाउने भन्ने कुरा कतै पनि उल्लेख नगरिएको उनको भनाइ छ । ‘कानुनमा सट्टा बाजी गर्न नपाउने भन्ने कुरा उल्लेख गरेको छ, आयातको विषय उद्योग मन्त्रालयको हो, तर प्रचलित कानुन अनुसार गर्न नपाउने कार्य गरेमा भने गृहमन्त्रालयले हस्तक्षेप गर्छ,’ उनले भने ।
सट्टा बाजी गर्ने काम त तासबाट मात्रै नभएर अन्य माध्यामबाट पनि हुने उनको तर्क थियो । ‘कसैले गिट्टी राखेर पनि सट्टेबाजी गर्ला अब गिट्टी किन खुला गरियो भन्न मिल्छ त ?’ सह सचिव कोइरालाले भने, ‘त्यस्तै कसैले पिपलको पात राखेरै यस्तो गर्ला अनि पिपलको पातलाई पनि प्रतिबन्ध लगाउने त ?’
यता नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईलेभने प्रहरीले आफ्नो जिम्मेवारी पुरा गरेको भन्दै आयात नै नगरेको खण्डमा खेल नै नहुने बताए । ‘मुहान नै बन्द भएको अवस्थामा कसरी खेल हुन्छ, यस विषयमा सरकारले सोच्नु पर्ने आवश्यकता छ,’ उनले भने । चाडपर्वको समयमा प्रहरीलाई निकै समस्या हुने गरेको छ । यसमा प्रहरीले कडाइका साथ निगरानि गरिहरेको प्रवक्ता राईले बताए ।
‘नेपालीहरुको परम्पराका रुपमा नै रहेको कौडा खेललाई गलत परम्परा भनेर ब्याख्या गरेर कारबाही पनि हुने गरेको छ, तासको पनि मुहानै बन्द गरिदिए हामीलाई अझ सजिलो हुन्छ,’ प्रवक्ता राईले भने, ‘सरकारको निर्णयमा प्रहरीले कुनै पनि कमेन्ट गर्न मिल्दैन यदि खेल्ने तास नेपालमा ल्याउनका लागि नै प्रतिबन्ध लगाएको खण्डमा यस्तो कार्यलाई प्रहरीले स्वागत गर्छ ।’
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै नेपालले २ अर्ब रुपैयाँभन्दा बढीको खेल्ने तास आयात गरेको छ । विभागको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म नेपालले २ अर्ब २९ करोड ६५ लाख ६१ हजारको तास आयात गरेको छ । यो अवधिमा नेपाले चीनबाट २ अर्ब २ करोड १० लाख ८३ हजारको तास आयात भएको छ भने भारतबाट २७ करोड ५४ लाख ७८ हजार रुपैयाँको तास आयात भएको विभागले जनाएको छ ।
यो अवधिमा तास आयातबाट नेपाल सरकारले २ करोड ८० लाख बढीको राजस्व समेत संकलन गरेको छ ।
मुलुकी अपराध संहिताले जुवा खेल्ने वा खेलाउनेलाई सजायको व्यवस्था गरेको छ । उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ । त्यस्तै दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबानाको व्यवस्था गरिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था कानुनमा छ ।








