चुनावपछि देशको अर्थतन्त्रमा सुधार आउला ? स्थानीयमा निराश निजी क्षेत्र आम चुनावमा आशावादी

1.79K
shares
Krishi Bikas Bank

काठमाडौं, २० कात्तिक । अहिले देश चुनावी माहोलमा होमिएको छ । नीतिहरुको पनि नीतिका रुपमा रहेको राजनीति यतिबेला चुनावले तातिएका छ । सबै राजनीति दलहरु यतिबेला चुनावको प्रचासर प्रसारको चटारोमा छन् । मतदातालाई आफूतिर आकर्षित गर्नका लागि उनीहरुले सक्दो प्रयास गरिरहेका छन् । अहिले नेताहरु शहरमाभन्दा गाउँघरमा भेटिन्छन् ।

यो समयमा मतदाताहरुका लागि धान भित्र्याउने समय हो । राजनीतिक दलका नेताहरु अहिले मतदाता रिजाउन खेतबारीमा नै पुगिरहेका छन् । तर देशको आर्थिक क्षेत्रको मेरुदण्डका रुपमा रहेको निजी क्षेत्र भने अहिले सडकमा आएको अवस्था छ । बैंकहरुले बढाएको ब्याजदरका कारण व्यवसायीहरु यतिबेला आन्दोलनमा उत्रिएका छन् ।

चुनावको समयमा देशको अर्थतन्त्र चलायमान हुने आशा निजी क्षेत्रले मात्रै होइन सबैले गरेका हुन्छन् । तर स्थानीय चुनावमा सोचेजस्तो नभएकाले व्यवसायीहरु त्यति उत्साहीत भने देखिदैनन् । देश आम चुनावमा होमिएको समयमा केही मात्रामा भएपनि अर्थतन्त्र चलायमान हुने आशा गरिएको छ । तर स्थानीय चुनावमा सोचेजस्तो हुन नसकेकाले आशा मात्रै गर्न सक्ने अवस्था रहेको व्यवसायीहरुले बताउने गरेका छन् । आशा गर्ने हो तर सोचेजस्तो हुने सम्भावना भने न्यून रहेको व्यवसायीहरुको भनाइ छ ।

अर्थतन्त्र केही मात्रामा चलायमान भएको जस्तो देखिए पनि चुनावकै कारण ठूलो असर भने नपर्ने हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईएडीसीएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमको भनाइ छ । ‘देशको समग्र अर्थतन्त्रमा चुनावकै कारण केही असर पर्दैन् तर केही मात्रामा चलायमान हुन सक्छ,’ उनले भने ।

केमिकल तथा मेडिकल सप्लायर्स एसोसिएन अफ नेपालका अध्यक्ष भक्त बहादुर हमालले भने सही कदम नचालिएसम्म चुनावनपछि पनि अवस्थामा सुधार नआउने बताए । बैंकमा जम्मा भएको रकम पनि चुनावको समयमा निस्कने र त्यो अनुत्पादक क्षेत्रमा खर्च हुने भएकाले यसले अहिले देखिएको समस्या समाधान गर्न नसक्ने उनको भनाइ छ ।

‘निजी क्षेत्रले आशा गर्ने हो, केही मात्रामा चलायमान पनि होला तर सही कदम चालिएन भने अवस्थामा सुधार आउँदैन्,’ उनले भने । चुनावको समयमा निस्कने पैसाले कालान्तरमा गएर नकारात्मक असर गर्ने उनको दाबी छ । उत्पादन क्षेत्रमा खर्च गरेको खण्डमा मात्रै अर्थतन्त्रमा सकारात्मक असर गर्ने व्यवसायीहरुले बताउने गरेका छन् ।

अहिलेको अवस्थामा चुनावपछि नै अर्थतन्त्र सही बाटोमा आइहाल्छ भन्न सकिने अवस्था नभए पनि केही मात्रामा चलायमान हुने आशा भने रहेको ट्रेकिङ एजेन्सी एसोसिएन अफ नेपाल (टान) का पूर्व अध्यक्ष खुम बहादुर सुवेदीको भनाइ छ । आशा गरे अनुसार स्थानीय चुनावमा खासै सोचेजस्तो नभएकाले यसै भन्न सक्ने अवस्था नरहेको उनले बताए ।

‘स्थानीय तहको चुनावको समयमा सोचेजस्तो नभएको अवस्था हाम्रा सामु ताजै रहेको छ । जसले गर्दा अहिलेको चुनावमा पनि अर्थतन्त्रमा ठूलो असर पर्छ भनेर भन्न सकिने अवस्था छैन्,’ उनले भने । चलायमान हुने अपेक्षा मात्रै गर्न सकिन्छ । स्थानीय तहमा हुन सकेन् ।

नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्साना श्रेष्ठले पनि आशा मात्रै गर्न सकिने अवस्था रहेको सुनाइन् । प्रत्यक पटक चुनावको समयमा अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने र चलायमान हुने भएपनि स्थानीय चुनावमा सोचेजस्तो नभएकाले व्यवसायीहरु थप निराश बनेको उनको भनाइ छ ।

‘स्थानीय चुनाव भर्खरै सकिएको छ । त्यसमा पनि सोचेजस्तो र आशा गरेजस्तो हुन सकेनन् । आम निर्वाचनमा पनि व्यवसायीले आश त गर्ने हो तर के हुन्छ त्यो भने पछि मात्रै थाहा होला,’ उनले भनिन् ।

यता नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुर्व थापाले सिरानी मुनिको पैसा निस्कने आश स्थानीय चुनावमा गरिए पनि सोचेजस्तो नभएको भन्दै अहिले पनि आशा मात्रै गर्न सकिने बताए । ‘व्यवसायीहरु सधै आशामा नै बस्ने हो अर्थतन्त्रको अवस्था भने गम्भिर नै छ यसै भन्ने अवस्था छैन,’ उनले भने ।

स्थानीय चुनावपछि नै दशैँ तिहार जस्ता चार्डपर्व आए पनि अवस्था त पुरानै रहेको उनको भनाइ छ । ‘चुनाव एउटा प्रक्रिया हो । यसले सबै क्षेत्रलाई प्रभाव पार्छ । सबैलाई चुनाव लाग्छ व्यवसायीहरुलाई पनि यो चुनावले छोएको छ । नेतृत्व छनोटका लागि सबै सहभागि हुन्छन,’ अध्यक्ष थापाले भने ।

अहिले देशको अर्थतन्त्र निकै नाजुक अवस्थामा पुगेको व्यवसायीहरुले बताइ रहेका छन् । व्यवसायीलाई बचाउन नसकेको अवस्थामा समग्र अर्थतन्त्र नै समस्यामा पर्ने उनीहरुले बताएउँदै आएका छन् । अर्थतन्त्र र व्यवसायीलाई जोगाउनका लागि सरकारले नै कदम चाल्नु पर्ने उनीहरुको माग छ ।

आर्थिक क्षेत्रको मेरुदण्डका रुपमा रहेको निजी क्षेत्र नै ब्याजदर बढाएका कारण सडकमा आउनु दुर्भाग्यपूर्ण अवस्था हो । यसलाई समयमा नै समाधान गर्नका लागि राज्यको ध्यान जान जरुरी देखिन्छ ।


Krishi Bikas Bank
franklin 1200*150