‘बिरामीलाई अस्पतालसम्म पुर्याउनका लागि झोलुङ्गोको साहारा’
वि.सं.२०७९ फागुन ३० मंगलवार ०६:३०
shares

काठमाडौं, २९ फागुन । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल भईरहेको छ । तस्वीरमा एक बिरामीलाई कपडाको झोलुङ्गोमा राखेर अस्पताल लैजाँदै गरेको देख्न सकिन्छ । त्यो तस्वीर धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ६ को हो ।
कपडाको झोलुङ्गोमा राखेर अस्पताल लैजादै गरिएका व्यक्ति हुन् सोही गाउँपालिका वडा नम्बर ६ का २८ वर्षिया दीप बहादुर चेपाङ । उनी एक महिना अघि घाँस काट्न जाँदा रुखबाट लडेर घाइते भएका थिए । उनको ढाडमा चोट लागेको छ । सुरुवातमा गाउँकै स्वास्थ्य चौकीमा उपचार गराएका चेपाङको ढाडको समस्या झन बल्झिए पछि उनलाई झोलुङ्गोमा राखेरे गाडी आउने ठाउँसम्म लगिदै गरेको दृश्यले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । चेपाङ्लाई उपचारका लागि काठमाडौं पठाउन गाडी पुग्ने ठाउँसम्म लैजान स्थानीय युवाहरुले यो उपाए अपनाएका हुन् ।
उनी गोरखा जिल्लाको गण्डकी गाउँपालिकामा काम गर्थे । आर्थिक अवस्था कमजोर भएका उनले करिब एक महिना गाउँमा नै रहेको सामान्य मेडिकलमा उपचार गराए । अहिले उनकाे काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
गाउँपालिकामा भएको यो विषय सामाजिक सञ्जालमा भाइरल हुँदा पनि गाउँपालिका भने बेखरबर रहेको छ । गाउँपालिका उपाध्यक्ष टोप बहादुर श्रेष्ठले यस विषयमा आफूलाई कुनै पनि जानकारी नभएको बताएका छन् । जनताको सरकारका रुपमा रहेको स्थानीय सरकार जनताका विषयमा नै बेखरबर हुनु निकै चिन्ताको विषय हो । ‘यो विषयमा मलाई कुनै पनि जानकारी छैन । मैले पनि सामाजिक सञ्जाल मार्फत थाहा पाएँ,’ उनले भने ।
स्थानीयले आफूहरुलाई जानकारी नदिएका कारण समस्या भाेग्नु परेकाे बताए । ‘उहाँहरुले जानकारी गराउँदा हामीले वेवास्ता गर्यौँ भने त्यो हाम्रो गल्ती हुन्छ तर उनीहरुको समस्या नै हामीसम्म आइपुगेको हुँदैन त हामीले कसरी समाधान गर्ने ?’ उनले भने ।
अहिले तीन तहका सरकार रहेका छन् । संघीय सरकारले सबै स्थानमा पुगेर काम गर्न नसक्ने भयो भनेर देश संघीयतामा गएर एक कार्यकाल पनि पुरा भएको छ । अर्को कार्यकालका लागि पनि नयाँ जनप्रतिनिधि आएर १० महिना विताइसकेका छन् । यो समय भनेको कुनै बेला एक सरकार परिवर्तनको समय हो । जतिबेला नेपालमा ९ महिनामा सरकार परिवर्तन हुने गरेको थियो ।
संघीय राजधानीबाट नजिकै रहेको र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा बहालवाला मुख्यमन्त्रीको गृह जिल्लाको यो दृश्यले सम्रग नेपालको वास्तविकतालाई खिसिट्युरी गरिरहेको छ ।
बेनिघाट रोराङ गाउँपालिकामा ४२ प्रतिशत चेपाङ समुदायको बसोबास रहेको छ । भक्तपुर जिल्ला जत्रै गाउँपालिकामा एक वडाबाट पालिकाको केन्द्रसम्म पुग्नका लागि पनि निकै समय लाग्ने गरेको छ ।
संघीय राजधानी काठमाडौंबाट मात्रै ८४ किलोमिटरको दुरीमा रहेको यो ठाउँमा अझै पनि सडक पुग्न सकेको छैन । त्यहाँ बिरामी भएर उपचारका लागि अनेत्र पठाउँदा सडक भएको ठाउँसम्म लैजानका लागि यसै गरी झोलुङ्गोमा हालेर लैजानु पर्ने बाध्यता रहेको स्थानीहरुको भनाइ छ ।
देशमा संघीयता कार्यान्वयन भएको पनि ६ वर्ष पुग्न लागिसक्यो । गाउँगाउँमा सिहंदरबारको नारा सहित स्थानीय तहको अभ्यास भइरहेको छ । प्रत्यक स्थानीय तहमा सुविधासम्मन्न अस्पताल बनाउने विषय पनि भनिएको थियो । सिंह दरबारको अधिकार गाउँगाउँमा पुग्ने भनिए पनि यस्तो धेरै ठाउँहरु रहेका छन् जहाँ बिरामीलाई झोलुङ्गो, डोकोमा बोकेर अस्पताल पु¥याउनु पर्ने अवस्था अहिले पनि कायमै रहेको छ ।








