त्रियुगामा मनपरी : मेयरकै संरक्षणमा मानबहादुरको हालिमुहाली
वि.सं.२०७९ फागुन १९ शुक्रवार ०८:००
shares

काठमाडौं, १८ फागुन । उदयपुरको त्रियुगा नगरपालिकामा सरुवा भइसकेर पनि हालिमुहाली गरिरहेका प्रमुख प्रशासकीय अधिकृत मानबहादुरलाई मेयर बसन्त बस्नेतको समेत संरक्षण रहेको पुष्टि भएको छ ।
२७ माघमा नै सरुवा भएपनि सरुवा भएको ठाउँमा नगएर मानबहादुरले त्रियुगामा मनपरी गरिरहेका थिए । उनले सरुवा भएको ठाउँमा जानु पर्नेमा त्रियुगामा नै बसेर कर्मचारीहरुलाई हप्कीदप्की गर्नेदेखि जिम्मेवारी हेरफेर गर्नेसम्मका काम गर्दै आएका छन् ।
मानबहादुरले नगरपालिकाका सूचना अधिकारी विश्वजित राईलाई वडा सचिवको रुपमा काममा खटाउन पत्राचार समेत गरेका छन् । सरुवा भइसकेका हाकिमको मनपरी पछि नगरका अधिकांश कर्मचारीहरु असन्तुष्ट छन् । तर, मेयर बस्नेतले भने उनलाई संरक्षण गरेर राखेको पाइएको हो ।
सरुवा भएको ठाउँमा नगएको विषयमा हामीले मानबहादुरलाई टेलिफोनमा सोधेका थियौँ । उनले आफूलाई मेयर उपमेयरकै साथ रहेको बताएका थिए । उनले भनेका छन्, ‘अर्को मान्छे आएको छैन, मेयर र उपमेयरले नै मलाई अर्को मान्छे नआउदासम्म काम गर्नु भन्नु भएको छ ।’
मेयर बस्नेतले पनि घुमाउरो पारामा मानबहादुर आफ्नो संरक्षणमा रहेको स्वीकार गरेका छन् । अर्को मान्छे नआउदासम्म आफूले नै मानबहादुरलाई रोकेको उनको भनाइ छ । बस्नेत नेपाली कांग्रेसको तर्फबाट मेयर जितेका व्यक्ति हुन् । उनी ठेकेदार समेत हुन् । उनी सञ्चालक रहेको कम्पनी कालोसूचीमा समेत परेको थियो ।








