सेन्ट्रल फाईनान्सले लाभांश पारित गर्न बोलायो साधारणसभा
वि.सं.२०७९ पुस ८ शुक्रवार १५:१९
shares

काठमाडौं, ८ पुस । सेन्ट्रल फाईनान्स लिमिटेडले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुरमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित ५ प्रतिशत नगद लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजी रू. ९४ करोड ८८ लाख ७५ हजारको आधारमा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।








