नेपाल लाइफ इन्स्योरेन्स एनपीएसमा आबद्ध
वि.सं.२०७९ मंसिर २ शुक्रवार १०:३०
shares

काठमाडौं, २ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एनपीएसमा आबद्ध भएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपीएस) को लागि दुइ संस्थाहरु बीच सम्झौता गरेको हो ।
सम्झौता पत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिनेछ ।
जस मार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ भने नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ ।
साथै नेपाल लाईफले एनपीएस मा उपलब्ध अन्य उपकरणहरुको प्रयोग गरी थप नयाँ सेवाहरु पनि ल्याउने कार्य अगाडि बढाउन सकिनेछ ।
नेपाल लाइफ इन्स्योरेन्स कं.लि.ले बीमा सुविधाको पहुँच हरेक नेपालीको घरसम्म पुर्याउने र नेपाललाई आर्थिक समृद्धी तर्फ उन्मुख गराउने दीर्घकालीन उद्देश्य लिई कार्य गर्दै आएको छ ।
कम्पनी ले विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरुको प्रयोग गर्दै डिजिटल माध्यमहरुको प्रयोग बाट आफ्नो सेवा विस्तार गर्दै आएको छ । १५ लाखभन्दा बढी बीमितहरु रहेको यस कम्पनीका १९७ शाखा सञ्जालहरु र २१२,३६२ अभिकर्ताहरु रहेका छन् । एनसीएचएलसँगको यस सहकार्यले नेपाल लाइफको सेवा प्रवाह थप सुदृढ हुने तथा अन्य विभिन्न नयाँ सेवाहरु सुचारु गर्न पनि थप मद्दत पुग्ने विश्वास गरिएको छ ।








