‘बीमा कम्पनीलाई पुरस्कार र दण्डको व्यवस्था गर्नु पर्छ’
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १५:२६
shares

काठमाडौं, २२ कात्तिक । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई पुरस्कार र दण्डको व्यवस्था हुनु पर्ने बताएका छन् । प्राधिकरणमा रुपान्तरण भएको औपचारीक घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
सबै कम्पनीको मूल्यांकन गर्ने र त्यसमध्येबाट उत्कृष्ट छनोट गरेर पुरस्कारको व्यवस्था गर्नु पर्ने उनको धारणा थियो । यस्तो गर्दा अर्को कम्पनीलाई पनि उत्साह थपिने उनले बताए । यस्तो व्यवस्थाले एक नम्बर बन्नका लागि प्रतिप्रर्धा बढ्ने उनको भनाइ थियो ।
‘यदि कसैले नराम्रो गर्छ भने उसलाई दण्ड दिनु पर्छ, जुन अहिलेको नयाँ ऐनमा व्यवस्था गरिएको छ,’ उनले भने । यस्ता विभिन्न कार्यहरु गर्नका लागि ऐनमा स्वायत्तता दिइएको र सोही अनुसार कार्य हुने अध्यक्ष सिलवालले बताए ।
कानुनले दिएको अधिकारको प्रयोग गरेर बीमा व्यवसायलाई स्थापित गर्नका लागि ध्यान दिनु पर्ने उनको भनाइ छ । काम गर्नै नसक्ने पोटफोलियो राखेको खण्डमा त्यसलाई हटाउन सक्नेसम्मको अधिकार प्राधिकरणलाई रहेको उनले बताए ।








