‘देशको ७० प्रतिशत भार हामीले थामेका छौं, किन हाम्रै कुरा सुनिदैन ?’

चुनाव मै जित्छु, ढुक्क छु : उमेशलाल श्रेष्ठ

4.15K
shares
Krishi Bikas Bank

अहिलेको अवस्थामा निजी क्षेत्रमा आएको आर्थिक समस्याका बारेमा चर्को आलोचना भइरहेको छ । उद्योगी व्यवसायीहरु चर्को ब्याजविरुद्ध आन्दोलित छन् । यो समस्या समाधानका लागि अब चैतमा हुने निर्वाचनमा कस्तो नेतृत्व आउनुपर्छ भन्ने विषयमा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठसँग गरिएको कुराकानी :

अहिले निजी क्षेत्रको अवस्था कस्तो छ ?

निजी क्षेत्रको अवस्था भनेकै देशको आर्थिक अवस्था हो । देशको अर्थतन्त्रमा निजी क्षेत्रको करिव ७० प्रतिशत हिस्सा हुन्छ । निजी क्षेत्रको अवस्था गाह्रो नै छ । कोभिडको समयमा त ठप्प नै थियो कोभिडपछि ३ प्रतिशत हुँदै अहिले ५.३१ प्रक्षेपण गरिएको छ । त्यो ग्रोथ पनि निजी क्षेत्रबाट खासै आएको देखिंदैन । हाम्रा उद्योगहरु पनि खासै चलायमान छैनन् । उद्योग व्यवसाय सञ्चालन गर्न पनि अप्ठ्यारो अवस्था छ । कृषि व्यवसाय पनि नगण्य भइसक्यो ।

अहिले सरकारले गरेको ग्रोथको प्रक्षेपण पनि शंका लाग्छ यति कसरी बढ्यो । बाहिर बजारमा पनि पैसा छैन । किनकि व्यवसायीलाई पनि गाह्रै छ । हामीले हरेक चिज गर्नलाई बैंकसँग लोन त लिन्छौं । अहिले बैंकसँग पैसा छैन ।

जब कोभिडको समयमा बैंकसँग धेरै पैसा थियो, त्यो बेला बैंकले सोचविचार नै नगरी कर्जा लगानी गर्‍यो जे कामका लागि पनि ठूलो कर्जाको लगानी गर्‍यो अनि हुँदाहुँदै अहिले यस्तो अवस्था आयो । बीचमा राष्ट्र बैंक आएर तीन महिने आतंक शुरु गर्‍यो । बैंकहरुले यतिसम्म गरे कि दुईवर्ष अगाडि ६ प्रतिशत ब्याजमा लिएको ऋणको ब्याज अहिले १४ प्रतिशत तिर्नु परेको छ । अनि व्यवसायी आक्रोशित हुनु त स्वभाविक नै हो ।

कसरी व्यापार थाम्ने अनि ? सरकारले बैंकहरुलाई छुट दियो । बैंकहरुमा पैसा छैन, नभएपछि ब्याजदर बढाउनु सामान्य हो । यो सबै देशहरुमा हुँदै आएको कुरा हो । ती देशहरुमा ब्याज पनि ०.५ प्रतिशतले बढाउँछन् । तर नेपालको परिवेशमा भने दोब्बरभन्दा माथि ब्याज बढाएको छ ।

यसका सरकार र बैंक दुवैको निर्णय हो । गर्ने बैंक भयो भने दिमाग चाहीं सरकारको हो । अनि एक करोडको लोन लिंदा एक हजार करोडको सम्पत्ति देखाउनुपर्छ, यसले पनि प्रभाव पारेको छ । यसको कारण बैंकहरुलाई सुरक्षित गर्न ठीक गर्नुपर्छ, तर यो अति नै भयो । यसलाई अलि कन्ट्रोलमा ल्याउनुपर्छ ।

अबको पहिलो त्रैमासिकमा सबै बैंकहरुले गरेर १८ अर्ब कमायो रे, यसमा मलाई दुःख छैन । तर सबै क्षेत्रमा आवश्यक परेको बेला बैंकले मात्र कमाउन मिल्दैन । अब राष्ट्र बैंकले हामी जनतासँग जम्मा गरेर राखेको ५२ खर्ब पैसा जुन छ, त्यो कहाँ गयो ?

८ खर्ब कृषि क्षेत्रको लगानीमा गएको छ, यसको प्रभाव खै त ? कृषि उत्पादन किन बढेन ? लगानी कहाँ भयो त ? अबको राष्ट्र बैंकको दायित्व भनेको लगानी गरेको पैसा सदुपयोग भएको छ कि छैन, बुझ्न आवश्यक छ । बैंकहरुको पनि देशप्रति दायित्व हुन्छ ।

बैंकहरुको दायित्व भनेको देशको अर्थतन्त्रलाई सम्हाल्दै लाने र माथि पुर्‍याउने हो । अहिले सरकारले जुन नीति र नियम लागू गरेको छ, त्यो नै उद्योग र व्यापार विरोधी छन् । अनि पहिलेबाट नै कालोबजारीको ट्याग लागेको छ । यस्ता कुराहरुले समस्या बनाएको छ । हाम्रो देश खुल्ला अर्थतन्त्रमुखी देश हो, त्यसमा पनि अङ्कुशे हालेर ठूलो अपराध गरेको छ सरकारले ।

सरकारका मान्छेहरुले निजी क्षेत्रसँग समन्वय नगरी कानून बनाउन सक्छन् ?

त्यो हामीलाई बोलाएर कानून बनाउँछन् भन्ने सब बेक्कार हुन् । हामीलाई बोलाउँछन् तर फर्मालिटीको लागि मात्र हो । उनीहरुले अगाडि नै ड्राफ्ट बनाइसकेका हुन्छन् । हामीलाई सूचना मात्र दिन्छन्, समन्वय गर्ने होइन ।

हाम्रो कुनै सुझाव कार्यान्वयन हुँदैनन् । यसमा हामीलाई संलग्न नगराउनुको कारण छ, ठूलाबडाले आफ्नो स्वार्थको काम निप्ट्याउनका लागि सानातिनाको सुझाव लिंदैनन् । जस्तो अहिले हाम्रो जिल्ला आन्दोदित छ, अहिले सबै जिल्लाहरुमा आल्दोलनको माहोल भइरहँदा केन्द्रले साथ दिने कुरै गर्दैन । हाम्रा तीन तहः नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स र सीएनआई यसरी नै पंगु भएर बस्ने हो भने त अवश्य आउँछन् ।

निजी क्षेत्रले किन आफ्नो भूमिका देखाउन सकेन, किन सरकारसँग समस्या राख्न सक्दैन ?

मलाई लाग्छ आफ्नो स्वार्थका कारणले गर्दा सरकारसँग कुरा राख्न डरायो । यसो भन्दैगर्दा मैले सरकारको वा कुनै व्यक्तिको बारेमा बोलेको होइन ।

हाम्रो नीति गलत भयो भनेको हो । देशको ७० प्रतिशत भार हामीले थामेका छौं भने हाम्रै कुरा नसुन्ने हुन्छ ? सुन्दा अचम्म लाग्छ । म स्वयं पनि महासंघको उपाध्यक्ष भएँ तर उपाध्यक्ष भएर केही नहुने रहेछ, अध्यक्ष नै हुनुपर्ने रहेछ । त्यसकारण अध्यक्ष भएर जो ठूलो पदमा जान्छ, त्यस व्यक्तिमा निजी स्वार्थ भयो भने त्यो संस्थाले कहिल्यै प्रगति गर्न सक्दैन ।

उद्योग वाणिज्य संघ अहिले जिल्लाहरुमा भएका उद्योगी तथा व्यवसायी पर्दछन् । तर पहिलेको संघको इतिहास हेर्ने हो भने ठूला ठूला आन्दोलनका समयमा पनि संयम भएर धेरै राम्रो लिडरसीप गरेको छ । आफ्ना समस्या सरकारसमक्ष पुर्‍याउने काम गरेको छ । सरकारले कानमा तेल लगाएर बस्दा पनि त्यसलाई झक्झकाउने काम गर्नैपर्छ महासंघले ।

चैतमा आगामी नेतृत्वका लागि निर्वाचन हुँदैछ, तपाई त्यसका लागि तयार हुनुहुन्छ ?

तयार छु । साथीहरुसँग सल्लाह गरेर अब घोषणा गर्न बाँकी छ । म वरिष्ठ उपाध्यक्षको आकांक्षी हो ।

ब्याक हुनुहुन्न ?

ब्याक हुनुपर्ने कारण देख्दिनँ । साथीहरुसँग कुराकानी गरेर अरु साथीहरु ब्याक हुनुहोला तर म ब्याक हुदिनँ । साथीसँग कुराकानी हुँदा के भन्छन् भने तिमी त महासंघमा हुनुपर्ने हो । तर मैले चुनाव हारें, ठीकै छ हारजीत त भइरहन्छ ।

अलिकति नेपालको राजनीतिको बारेमा पनि कुरा गरौं, तपाई नेपाल कम्युनिष्ट पार्टीका संस्थापकको सन्तान भएर पनि किन राजनीतिमा जानुभएन ?

मलाई राजनीतिमा जानुपर्छ भन्ने कहिल्यै लागेन । बुबालाई त मैले सहयोग गर्न पाइनँ तर आमालाई चाहिएको खण्डमा साथ दिइयो । तर राजनीतिमा जाउँजस्तो भित्री मनबाट कहिल्यै लागेन ।

राजनीतिमा तपाई भएको भए उद्योग वाणिज्य संघका लागि त निती नियमहरु बन्थे होला नि ?

जहाँ पनि उमेशलाल नै चाहिने भए त कसरी हुन्छ । जहाँ नि म आवश्यक छैन नि त । धेरै साथीहरु जाँदैछन् । उहाँहरुले त्यहाँ गएर एउटा विजनेश नीति बनाउनुपर्‍यो । तर प्रतिनिधिसभामा हाम्रा थोरै साथीहरु पुगे भने उहाँहरुको आफ्नो विकास हुन्छ । कानून सच्याउनु भनेको बेसी खानलाई होइन । कानून सच्याउन भनेको काम गर्ने वातावरण सहज बनाउनु हो । राष्ट्रले वा पार्टीले कहिल्यै पनि के बिर्सिन नहुने कुरा भनेको व्यापारीले गर्दा देश चलेको छ ।

देशको ७० प्रतिशत हिस्सा व्यापारीको छ भन्ने हुनुप¥यो । व्यापारी जेल गएनन् होला, उनीहरु आन्दोलन गर्दै हिंडेनन् होला । व्यापारीले नै हो अर्थतन्त्रलाई चलायमान गर्ने, देश चलाउनलाई सरकारलाई पैसा दिने काम सबै हाम्रो हो । यो भन्दा अगाडिको निर्वाचनमा निर्वाचन खर्चभन्दा बढी राज्पस्व संकलन भएको छ, त्यो सब उद्योगी–व्यवसायी र जनताले तिरेको हो । १५ खर्बको बजेटमा ११ खर्ब त निजी क्षेत्रबाट आउँछ । त्यो कुरा जुन दिन सरकारका मान्छेहरुले बुझ्छन्, त्यो दिन देशको अर्थतन्त्र राम्रो हुन्छ ।

सरकारका मान्छेहरुले नबुझेको कि तपाईहरुले बुझाउन नसकेको हो ?

त्यो केही बुझेर पनि बुझ पचाएको हो । मेरो विचारमा पहिले नेपालमा निजी उद्योगहरु थिएनन्, राजा महेन्द्रले नेपालमा प्राइभेट सेक्टरका उद्योगहरुको स्थापना गरेका हुन् । उद्योगको योगदान त्यो बेला एकदमै कम त्यसैले हाम्रा बन्ने कानूनहरु सबै आयातलाई लक्षित गरेर बनाइए । त्यसकारण सबै लक्ष्यहरु आयातमुखी भए, न कि विकासमुखी ।

१५ खर्बको बजेटमा विकासमा जम्मा ३ खर्ब छ, अनि नेपालले विकास कसरी हुन्छ ? विनियोजित भएको खर्च पनि विकासको काममा हुँदैन । यस्तै भयो भने नेपाल कसरी विकास हुन्छ ? यो पाराले त नेपालको विकास हुँदैन । यसलाई परिवर्तन गर्नुपर्छ । हाम्रा नीतिहरुलाई संलग्न गरेर छलफल गरेर सबै कुरालाई ध्यानमा राखेर जुन यो निजी क्षेत्रमा लागेको कालोबजारीको ट्याग हटाउनुपर्‍यो । कालोबजारी गर्दैनन् व्यापारीले भन्ने होइन तर निजी क्षेत्र नै कालोबजारी गर्ने अड्डा भने होइन ।

अब फेरि पनि महासंघमा किन जान चाहानुभयो ?

अहिले भएका जति पनि समस्याहरु छन् त्यसलाई आफू पुगेर सरकार समक्ष बुलन्द गर्न चाहान्छु । नत्र मलाई के आवश्यकता थियो र फेरि पनि महासंघमा जानुपर्ने ? यो क्षेत्रमा भएका समस्याहरु अलिकति पनि हल नभएको देखेर नै म फेरि महासंघको नेतृत्वमा जान लागेको हुँ । नत्र म एकचोटी चुनाव हारिसकेको मान्छे आनन्दले घरमा बस्थें, आफ्नो व्यापार गर्थें । अनि जसले म शतप्रतिशत सही छु भन्छ, त्यो मान्छे जति गलत पनि अरु कोही हुँदैन ।

त्यसैले म पनि निजी क्षेत्रको समस्या समाधानका लागि भए पनि महासंघमा आएको हो । निजी क्षेत्रका समस्यालाई समाधान गरेर देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि नै म यो क्षेत्रमा आएको हो । निजीमैत्री बनाउन सकियोस् । बजार व्यवसायका बाधकहरुको समाधान गर्न र निजी क्षेत्रको उन्नतिका लागि हो मेरो उम्मेद्वारी ।

अब अन्तिममा आगामी अध्यक्षको सहयोग पाउने कतिको सम्भावना छ, उपाध्यक्षसँग मिल्ने तपाईको सम्भावना कतिको छ ?

आगामी उपाध्यक्षका लागि उम्मेद्वारीमा आउने मान्छेहरु सबै मेरा नजिकका साथीहरु हुन् । मेरो कोहीसँग दुश्मनी छैन । कस–कसको सहयोग रहन्छ भनेर म अहिले नाम त लिन्न तर ठूलो टिम जो पूर्वअध्यक्षहरुको छ, उहाँहरुको साथ र सहयोग पाउने छु जस्तो लाग्छ । ११ जना पूर्वअध्यक्षहरु र धेरैजसो साथीहरुले मलाई सहयोग गर्नुहुन्छ । विश्वासले भनेको होइन मैले यो कुरा, उहाँहरुसंग कुरा भएर नै हो ।

आगामी अध्यक्षको पनि साथ पाउनुहुन्छ ?

म बाहेक अरु को छ ? म जस्तो कम्मर कसेर दौडधुप गर्ने मान्छे अरु कोही पनि छैन । यसको मतलव यो अरुले गरेनन् तर म एकदमै सक्रिय भएर लागेको उपाध्यक्ष म हुँ । त्यसकारण उहाँले म बाहेक अरुलाई समर्थन दिनुहोला जस्तो मलाई लाग्दैन । चुनाव लड्ने भनेको आफ्नो दमले हो त्यो दम मसँग छ ।

तपाईलाई थाहा छ, तपाईको हक्की स्वभावको पनि कहिलेकाही आलोचना हुने गर्छ ?

हो, हुन्छ । अहिले मान्छे हक्की स्वभावको कारण म चाहियो भन्छन् अहिले । मेरो गज्जबको प्रचार हुँदोरैछ । मलाई के भन्छन् भन्दा डिक्टेटर अरुलाई बोल्न दिंदैन भन्छन्, म आफूलाई खुब इनालाइज गर्छु । म त्यस्तो छु र अनि कसैको चाहिं एउटै कुरा १० पटकसम्म भन्ने बानी हुन्छ । अनि ल भयो भन्छु, उनीहरु त्यसलाई नै हक्की स्वभाव ठान्छन् । अनि अहिलेका मतदाता को के भन्छन् भने हक्की स्वभाव र निडर मान्छे चाहियो भनेर मलाई लाग्छ मलाई नै भन्या हो । अरु सायद त्यति निडर र हक्की छैनन् । त्यसैले चुनाव जित्छु, म शतप्रतिशत जित्छु । जित्छु भनेरै म चुनावी मैदानमा आएको हो ।


Krishi Bikas Bank
franklin 1200*150