प्राधिकरणले तोकेभन्दा कम नहुने गरी स्वदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउनु पर्ने
वि.सं.२०७९ कात्तिक १५ मंगलवार १०:४१
shares

काठमाडौं, १५ कात्तिक । बीमा कम्पनीहरुले पुनर्बीमा गर्दा स्वदेशी पुनर्बीमा कम्पनीलाई निश्चित व्यवसाय अनिवार्य रुपमा दिनु पर्ने भएको छ । बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७९ ले स्वदेशी पुनर्बीमा कम्पनीलाई तोकेको प्रतिशतभन्दा कम नहुने गरी अनिवार्य व्यवसाय दिनु पर्ने व्यवस्था गरेको हो ।
बीमा ऐनको दफा ८१ को उपदफा १ को (ग) मा ‘स्वदेशमा कार्यरत बीमकले स्थापित पुनर्बीमकसँग प्राधिकरणले तोकेको प्रतिशतभन्दा कम नहुने गरी अनिवार्य रुपमा पुनर्बीमा गराउनु पर्नेछ,’ भन्ने उल्लेख छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीले सबै बीमा कम्पनीहरूले प्रत्यक्ष हिस्साको २० प्रतिशत पुनर्बीमा आफूसँग गर्न अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको थियो ।
बीमा कम्पनीले नेपाली पुनर्बीमा कम्पनीलाई प्रदान गर्ने गरेको प्रत्यक्ष हिस्सा पश्चात बाँकी भएको हिस्साको शतप्रतिशतसम्म पुनर्बीमा नेपालमै सञ्चालनमा रहेका पुनर्बीमा कम्पनीलाई दिन सक्ने समेत व्यवस्था छ । नेपालमा दुई वटा पुनर्बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । लामो समयदेखि नेपाल पुनर्बीमा कम्पनीले मात्रै गर्दै आएको कार्यमा पछिल्लो समय हिमालयन रि इन्स्योरेन्स थपिएको छ । हिमालयन रिमा निजी क्षेत्रको लगानी छ । सरकारले सञ्चालनमा रहेका दुवै कम्पनीलाई बराबरी हिस्सा दिने निर्णय गरेको छ । तर, बीमकहरू भने यी दुवै कम्पनीलाई समान व्यवसाय दिन नहुने भन्दै असमति जनाइरहेका छन् ।
मोटर बीमा, कृषि बीमा, लघु बीमा तथा विविध बीमालाई स्वदेशमै शत प्रतिशत पुनर्बीमा गर्नुपर्ने कानुनी व्यवस्था छ । पुनर्बीमा कम्पनीहरुले बीमा कम्पनीबाट प्राप्त सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा कुनै पनि अवस्थामा अस्वीकार गर्न नपाउने व्यवस्था समेत छ ।
प्रमाणीकरण भएको ३१ दिनभित्र ऐन लागू हुने व्यवस्था अनुसार राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेको बीमा एने, २०७९ यहि कात्तिक २३ गतेबाट लागू हुने छ ।








