जुत्ता उद्योगीहरु छिन्नभिन्न, तीन वटा संघ छन्, एकले अर्कालाई देख्नै सक्दैनन्

2.65K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ पुस । भृकुटीमण्डपमा बाह्रै मास जुत्ता मेला चलिरहेको हुन्छ । हुँदा हुँदा पछिल्लो समय बागबजार र पद्मोदय मोडमा सटर नै भाडामा लिएर बाह्र मासे मेला भन्दै प्रचार गर्न थालिएको छ । सर्वसाधारणलाई झुक्याएर आफ्ना जुत्ता बिकाउनका लागि व्यवसायीहरुले ‘मेला’ को नाटक मञ्चन गरिरहेका छन् ।

यसरी मेला लगाउनेहरुमा पनि सबै नेपाली उत्पादन छैनन् । एक व्यवसायीहरुका अनुसार चीन तथा भारतबाट आएका सस्तो जुत्ताहरुलाई नेपाली जुत्ता भन्दै लोकल ब्राण्डको ट्याग लगाएर बिक्री गर्ने गरिएको छ । ‘मेला भनेपछि सर्वसाधारण पनि वास्तै गर्दैनन्, सस्तोमा जुत्ता पाए भइहाल्यो’ नाम नबताउने शर्तमा एक व्यापारी भन्छन्, ‘हामी त जतिसक्दो धेरै बिक्री गर्ने प्लान बनाएका हुन्छौँ, उपभोक्तालाई पनि वास्तै हुँदैन ।’

अर्का व्यापारीका अनुसार बाह्रै मासे मेलामा धेरैजसो भन्सार छलेका र चोरीपैठारीका जुत्ताहरु समेत राख्ने गरिएको छ । अझ रोचक कुरा चाहिँ जुत्ता उद्योगीहरु आफै पनि एक ठाउँमा छैनन् । जुत्ता चप्पल उत्पादन गर्ने उद्योगीहरुका ३ वटा छुट्टाछुट्टै संगठनहरु छन् । तीन संगठनहरु एक अर्कालाई खुब रिस गर्छन् ।

अहिले एउटा नेपाल जुत्ता उत्पादक संघ छ । यो संघ आफ्नै पाराको छ । अन्य संघहरुलाई ‘संघ नै नगन्ने’ खालको रहेको यहीँ संघभित्रकै व्यवसायीहरु बताउछन् । अर्को संघ भने नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी संघ छ । जसको अध्यक्ष दक्षमणि गौतम (बसन्त) छन् । अर्को संघ भनेको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन (एफम्यान) हो, यसको अध्यक्ष नानीराज घिमिरे हुन् । घिमिरे नेतृत्वको यो संघ भने बाह्रै मासे मेला लगाउन सक्रिय छ ।

केही समय अघि एसोसिएसनलाई नै बाइपास गर्दै केही व्यवसायीहरुले बाह्र मासे मेला लगाएका थिए । कहिले कुम्भ मेला, जाडो मेला, समर सेल मेला जस्ता विभिन्न नाम दिएर समाज कल्याण परिषद्को चौरमा मेला लाग्ने गरेको छ । मेला भन्दा पनि यो जनता झुक्याउने व्यापारीहरुको चाल रहेको एक जुत्ता उद्योगीले बताए ।

यस्तो मेलामा कहिले मन्त्री, प्रधानमन्त्रीदेखि राज्यका उच्च पदस्थ अधिकारीहरु समेत सहभागी हुने गरेका छन् । ‘मेला भनेको त निश्चित समयमा हुनुपर्छ । १२ महिना नै मेला पनि कही संसारमा हुन्छ ?’ एक जुत्ता उद्योगीले केटिएम भ्वाइससँग भने, ‘राज्यकै पदाधिकारीहरु पनि २ जोर जुत्तामा बिक्छन्, हामीले बोलेर पनि अर्थ छैन ।’

पुस २१ देखि काठमाडौंमा चलेको अन्तर्राष्ट्रि जुत्ता मेला पछि पनि उद्योगी व्यवसायीहरु एक अर्कामा रुष्ट बनेका छन् । मेलामा शिखर सुज लगायतका जुत्ताहरुले प्रदर्शनी गर्ने ठाउँ पनि पाएनन् । जुत्ता उद्योगीहरु नै छिन्न भिन्न भएपछि नेपाली जुत्ता उद्योग क्षेत्रलाई नकरात्मक असर पर्ने जानकारहरु बताउछन् ।


Krishi Bikas Bank
franklin 1200*150