अर्थतन्त्रको आन्तरिक स्वास्थ्य चिन्ताजनक छ : महासंघ
वि.सं.२०७९ चैत ७ मंगलवार २०:२८
shares

काठमाडौं, ७ चैत । नेपालको आन्तरिक अर्थतन्त्र अहिले पनि चिन्ताजनक अवस्थामा रहेको नेपाल उद्योग वाणिज्य महासंघको भनाइ छ । मंगलबार महासंघको नेतृत्वलाई भेट्न पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि मण्डलसँगको छलफलमा महासंघले बाह्य रुपमा अर्थतन्त्र सुधारीएको जस्तो देखिए पनि आन्तरिक रुपमा भने चिन्ताजनक रहेको बताएको हो ।
छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहित पदाधिकारीहरू र रास्वपाका दलका संसदीय दलका नेता डोल प्रसाद अर्याल सहितका सांसदहरुको सहभागिता रहेको थियो । छलफलमा अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका वारेमा विस्तृृत जानकारी गराएका थिए । बाह्य क्षेत्रमा केही सुधार देखिएपनि अर्थतन्त्रको आन्तरिक अवस्था भने चिन्ताजनक रहेको अध्यक्ष गोल्छाको भनाइ छ ।
सार्कमा कतिपय देशको तुलनामा विदेशी मुद्रा संचिति, मुद्रास्फिति, आन्तरिक एवं वाहय ऋणको अनुपातका हिसावले नेपालको अर्थतन्त्र मजबुत देखिएपनि चर्को व्याज दर, तरलता संकट, निर्माण क्षेत्रमा आएको सुस्तता लगायतका इन्डिकेटरका कारण अर्थतन्त्रको स्वास्थ्य चिन्ता रहेको अध्यक्ष गोल्छाको भनाइ थियो ।
अर्थतन्त्र गम्भीर संकटमा पुग्नुको मुख्य कारण सरकारको आर्थिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीति बीच तादात्म्यता नहुुनुु रहेको उनले बताए । त्यस्तै कोभिड लगतै ओभर हिटेड भएको अर्थतन्त्रको सही विश्लेषण गरेर नीति लिनुु पर्नेमा त्यसमा विचार नगरी अधिक तरलता छोड्दा अहिलेको समस्या आएको अध्यक्ष गोल्छाको भनाइ थियो ।
विकास खर्च नबढेसम्म अहिलेको अवस्थामा सुधार नहुने उनले बताए । ‘अहिलेको संकट समाधान गर्ने हो भने वितरणमुखी कार्यलाई रोकेर विकास खर्च बढाउनै पर्छ र यसका लागि कठोर निर्णय लिनैपर्छ, त्यसमा दलहरूको सहयोग अपरीहार्य छ,’ उनले भने ।
अध्यक्ष गोल्छाले सहकारी तथा लघुवित्त संस्थाहरुको प्रभावकारी नियमन गर्ने इस्यूलाई संसदमा प्रभावकारी ढंगबाट उठाउनुु पर्ने सुुझाव पनि व्यक्त गरे । सहकारी तथा लघुवित्त संस्थाको अनुुगमन नहुंदा पनि अहिलेको समस्या आएको उनको भनाइ थियो । मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी आकर्षण हुन नसक्नुमा पुराना ऐन कानून वाधक रहेको भन्दै यसमा परिमार्जनको आवश्यकता रहेको उनले बताए ।
महासंघले आगामी दश वर्षको मुलुकको अर्थतन्त्र १०० अर्ब डलर पुर्याउने, अतिरिक्त थप २२ लाख रोजगारी सृजना गर्ने लगायतका उद्देश्यले नेट २०३० सार्वजनिक गरेको र त्यसको कार्यान्वयनका लागि सरकारको समेत प्रतिवद्धता आएकाले यसलाई सफल पार्न स्वतन्त्र पार्टीको पनि सहयोग महत्वपूर्ण हुने सहयोग अपेक्षा गरिएको गोल्छाको भनाइ छ ।
छलफलमा राष्टिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता अर्यालले मुलुकको अर्थतन्त्र, उद्योग व्यवसायका इस्यूहरु माथि छलफल एवं अध्ययन गर्न महासंघ आएको स्पष्ट बताएका थिए । ‘योजनागत विकासको दशकौ अभ्यास गदै आएपनि अहिले पनि हामी पिछडीएकै राष्ट्रमा दरिनुपर्ने वाध्यता हाम्रा लागि दुुर्भाग्य हो’ उनले भने । अर्थतन्त्रको इन्जिन निजी क्षेत्रको छाता संस्था भएको उनको टिप्पणी थियो ।
छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन अपरिहार्य रहेको बताए । अर्थतन्त्र, उद्योग व्यवसाय सम्बन्धी नीति निर्माण गर्दा सरोकारवाला निजी क्षेत्रसँग पर्याप्त छलफल पश्चात मात्र ल्याउने अभ्यास गर्नुपर्ने र मुलुक बनाउने कुरामा आफना स्वार्थलाई छोडेर निर्णय गर्न सक्ने परिपाटी वसाल्नुु पर्ने उनको सुझाब थियो । त्यस्तै महासंघका उपाध्यक्ष रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनले उत्पादनमुलक उद्योगमै गएर उनीहरुका समस्या बुझेर संसदमा आवाज उठाई दिन आग्रह गरे । पैसा बैंकमा जम्मा गरेर व्याज खाने प्रवृति सरकारी निकायमा समेत रहेकाले अर्थतन्त्र समस्या पर्दै गएको उनीहरुको भनाइ थियो ।








