नीतिगत सुधार गरेर काम गर्दा अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

1.51K
shares
Krishi Bikas Bank

काठमाडौं, ६ चैत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत सुधार गर्नु पर्ने बताएका छन् । अर्थतन्त्रलाई छिटो सहि दिशामा लैजानका लागि अहिलेको अर्थतन्त्रलाई आधार मानेर सुधारका काम गर्नु पर्ने वरिष्ठ उपाध्यक्ष ढकालले बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश छैटौँ प्रदेश सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘अहिले अर्थतन्त्रका केही सूचकाङ्कहरु सकारात्मक देखिएका छन् । रेमिट्यान्स बढेको छ । विदेशी पर्यटकको संख्या बढेको छ । बैंकमा तरलता पनि बढेको छ । त्यसैले, यसलाई आधार बनाएर नयाँ नीतिगत व्यवस्था गरेर अगाडि बढ्न सकियो भने हामीले अहिलेको अर्थतन्त्रको समस्याबाट पार पाउन सकिन्छ ।’ उनले छिमेकी मुलुकको आर्थिक अवस्थासँग तुलना गरी नेपालमा पनि कठोर नीति लिँदा अर्थतन्त्रमा समस्या आएको स्मरण गर्दै अहिलेको अवस्था व्यवसायीहरुकोलागि चुनौतिपूर्ण रहेको बताए ।

‘कोरोना भाइरसपछि हाम्रो आफ्नो आन्तरिक नीतिहरुका कारणहरुले वा रशिया युक्रेन युद्धको कारणले होस्, हाम्रो अर्थतन्त्र प्रभावित हुन गएको छ । ब्याज बढायो भने तरलता समस्या समाधान हुन्छ भन्ने र आयात रोक्यो भने अहिलेको संकट पार लगाउन सकिन्छ भन्ने नीतिहरुका कारण अहिलेको समस्या आएको हो,’ उनले भने, ‘ती सबै नीतिहरु निष्प्रभावित रहे । अब अर्थतन्त्रमा केही सकारात्मक संकेतहरु देखिएका छन् । यसलाई आधार मानेर नयाँ नीतिगत व्यवस्था गर्न सकियो भने अर्थतन्त्रलाई अहिलेको समस्याबाट पार लगाउन सकिन्छ । छिटोभन्दा छिटो यसलाई लयमा ल्याउन सकिन्छ ।’

अहिलेका असहज अवस्थामा सबै एक भएर अघि बढ्नु पर्ने उनको भनाइ छ । ‘अर्थतन्त्रमा समस्या छ । अहिले एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप लगाएर समस्याको समाधान हुँदैन । नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंकिङ्ग क्षेत्र सबै मिलेर अहिलेको समस्याको समाधान खोज्नुपर्ने पर्छ,’ उनले भने ।


Krishi Bikas Bank
franklin 1200*150