८ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी, अर्थतन्त्र गम्भिर संकटमा छ : अर्थविद
वि.सं.२०७९ चैत ३ शुक्रवार ०८:१६
shares

काठमाडौं, २ चैत । पछिल्लो समय सरकारको आम्दानीभन्दा खर्च बढी रहेको छ । राजश्व संकलनमा गिरावट आएका कारण सरकारले खर्च आम्दानी भन्दा बढी भइरहेको हो । ८ महिनाको अवधिमा सरकारको आम्दानीभन्दा खर्च डेढ खर्ब बढी रहेको छ । ८ महिनाको अवधिमा सरकारको खर्च आम्दानीभन्दा १ खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ धेरै छ ।
चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएकोमा लक्ष्य पूरा नहुने देखिएपछि अर्धवार्षिक समीक्षामार्फत बजेटलाई संशोधन गरेर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँमा झारिएको छ ।
अहिलेकाे अवस्था अर्थतन्त्रका लागि निकै चुनाैतिपूर्ण रहेकाे अर्थविदहरुकाे भनाइ छ । आम्दानी भन्दा खर्च बढी हुनु अर्थतन्त्रका लागि निकै गम्भिर विषय भएको अर्थविद डा. डिल्लीराज खनालको भनाइ छ । यो अवस्था कायमै रहेको खण्डमा सरकारले कर्मचारीलाई तलब खुवाउनका लागि पनि नसक्ने अवस्था सिर्जना हुने उनले बताए । ‘पछिल्लो समय कोभिडका कारणले समस्या पारेको र अनुत्पादक क्षेत्रमा लगानी भएको, राजश्वको विकल्प नखोज्दा अहिलेको अवस्था आएको हो । यसमा सरकारले ध्यान दिनु जरुरी छ,’ उनले भने ।
अर्को तर्फ दिगो विकास तर्फ पनि नलागेका कारण अवस्था गम्भिर भएको उनको भनाइ छ । ‘अहिलेको अवस्थाममा अर्थतन्त्र संकटमा जाने खतरा बढीरहेको छ । यसलाई जोगाउनका लागि सरकारले सहि कदम चाल्नु पर्छ । यदि त्यसो हुन सकेन भने देश गम्भिर संकटमा फस्छ,’ खनालले भने ।
अहिलेको अवस्था आउनुको कारण बढेको आयातमा प्रतिबन्ध लगाउनु मुख्य कारण रहेको अर्थशास्त्री ज्ञानेन्द्र अधिकारीको भनाइ छ । ‘सरकारले आयातमा प्रतिबन्ध लगायो । तर गाडी र मोटरसाइलक बाहेक सबै सामान बजारमा पाइयो । यसबाट के देखियो भने सामान बजारमा आयो तर सरकारलाई राजश्व आएन,’ उनले भने । पुसदेखि सरकारले आयात खोलेको भए पनि सामान बिक्री नै नभएको उनको भनाइ छ । ब्याजदर बढी भएको समयमा कसैले पनि गाडी किन्दैन, यसका लागि त ब्याजदर घटाउनु पर्यो,’ उनले भने ।
सामान्य खर्चहरु भइनै रहेको अवस्थामा आम्दानी नबढ्दा अर्थतन्त्र खतरामा जाने सम्भावना बढेको उनले बताए ।
८ महिनामा सरकारको आम्दानी लक्ष्यको ४२ दशमलव ७ प्रतिशतमात्रै रहेको छ । यो अवधिमा राजस्व संकलनaबाट ५ खर्ब ७५ अर्ब ७ करोड रुपैयाँ प्राप्त भएको छ । सरकारको खर्च लक्ष्यको ४३ दशमलव ४४ प्रतिशत हो । चालुतर्फ ११ खर्ब ८३ अर्ब रुपैयाँको लक्ष्य रहेकोमा ६ खर्ब ६ अर्ब ४६ करोड रुपैयाँ अर्थात् ५१ दशमलव ६ प्रतिशत, पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३ करोड रुपैयाँको लक्ष्य रहेकोमा जम्मा ८३ अर्ब ८० करोड अर्थात् २२ दशमलव १५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँको लक्ष्य रहेकोमा ८५ अर्ब १५ करोड रुपैयाँ अर्थात् ३७ दशमलव ४१ प्रतिशतमात्रै खर्च भएको छ ।
अहिलेको अवस्था निकै जटिल रहेकाले सबै मिलेर अर्थतन्त्र जोगाउनुपर्ने अर्थविद् शिवराज अधिकारीको भनाइ छ । निर्देशन दिनेभन्दा पनि पोलिसि ल्याएर अर्थतन्त्र जोगाउने तर्फ लाग्नु पर्ने उनले बताए । ‘सुझाव दिन सबैले सक्छ । तपाई हामीले पनि सुधाव दिन सक्छौँ । सरकारमा रहेकाले सुझाव र निर्देशन दिने हाईन काम गर्ने हो,’ उनले भने । समयका बजेट खर्च गर्न नसक्ने अवस्था रहेको भन्दै यसमा सुधारको आवश्यकता रहेको उनको भनाइ छ ।








