माछापुच्छ्रे बैंकले जनताको पैसा फिल्म बनाउनेलाई बाड्यो
वि.सं.२०७९ फागुन ३० मंगलवार ०६:००
shares

काठमाडौं, २९ फागुन । बैंकहरु सर्वसाधारणको निक्षेप लिएर चल्छन् । सर्वसाधारणकै लगानी रहेका बैंकहरुले कतिसम्म बद्मासी गर्छन भन्ने थाहाँ पाउन भने माछापुच्छ्रे बैंकको पछिल्लो उदाहरणलाई हेर्नुपर्छ । माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकको बजेट फिल्म बनाउने एक व्यक्तिलाई गरिखाउँ भनेर दिएको पाइएको छ ।
जनताको ढाड सेक्ने गरी ब्याजदर लिएको तथा ऋण असुलीका लागि ग्राहकलाई मानसिक तनाब दिएको भन्दै बैंक तथा वित्तीय संस्थाका विरुद्ध चरणबद्ध आन्दोलन भइरहेका छन् । अर्कोतर्फ सामाजिक सेवाका लागि खर्च गर्नुपर्ने रकम माछापुच्छ्रे बैंकले कुनै अमुक व्यक्तिलाई फिल्म बनाउन दिएको पाइएको हो ।
बैंकका प्रमुख सूचना अधिकारी सुनिल खतिवडाका अनुसार एक प्राइभेट कम्पनीलाई टेलिभिजन कार्यक्रम चलाउनका लागि र फिल्म बनाउनका लागि भन्दै करिब ९ लाख रुपैयाँ बैंकले खर्चिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत ८२ लाख ८२ हजार ७ सय ५८ रुपैयाँ ४५ पैसा खर्च भएको सूचना अधिकारी खतिवडाले जानकारी दिए ।
यसमध्ये ८ लाख ७८ हजार फिल्म बनाउन र एक प्राइभेट कम्पनीलाई टेलिभिजन कार्यक्रम चलाउनका लागि बैंकले दिएको खतिवडाले बताए । यसरी रकम खर्च गर्नका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले ठाडो निर्देशन दिएका थिए । सीईओ कोइरालाले आफूसँग निकट सम्बन्ध भएकाहरुलाई पदको दुरुपयोग गर्दै समाज सेवामा गर्नुपर्ने खर्च कटाएर दिने गरेका छन् ।
सूचना अधिकारी खतिवडाले बैंकको आन्तरिक कार्यविधि बमोजिम संस्थागत सामाजिक उत्तरदायित्थ्व समितिले निर्णय गरी उक्त रकम खर्च भएको जानकारी दिएका छन् ।








