७ जनाको मन्त्रिपरिषद्लाई सरकार चलाउन कति सहज ?
वि.सं.२०७९ फागुन २८ आइतवार ०८:००
shares

काठमाडौं, २८ फागुन । नेपालको संविधानले सरकार सञ्चालनका लागि प्रधानमन्त्री सहित बढीमा २५ जना मन्त्रिपरिषद् सदस्य रहने व्यवस्था गरेको छ । संघ र प्रदेशको चुनाव सकिएसँगै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । उनको मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै सत्ता समिकरणमा परिवर्तन भयो । चुनाव अघिकै सत्ता समिकरण भएपछि सरकारमा सहभागी भएका नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छोडेपछि अहिले १७ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै समाल्नु परिरहेको छ ।
सत्ता गठबन्धनमा आएको परिवर्तनका कारण अधिकाशं मन्त्रीहरुले राजीनामा दिए । अहिले सरकारमा रहेका मन्त्रीहरु सबै माओवादी केन्द्रका मन्त्री हुन् । अहिले प्रधानमन्त्री सहित ६ जना मन्त्री र १ राज्यमन्त्रीले देश चलाइरहेका छन् ।
अहिले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला, अर्थ, कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालि रहेका छन् ।
अहिले तत्काल मन्त्रिपरिषद् विस्तार गरेर अघि बढ्नु पर्ने प्रशासन विज्ञहरुको भनाइ छ । प्रधानमन्त्रीले नै धेरै मन्त्रालयका जिम्मेवारी लिदा सुशासनमा असर पर्ने र नीतिगत निर्णय गर्नका लागि अप्ठयारो पर्ने पूर्व मुख्यसचिव बिमल कोइरालाको भनाइ छ । ‘धेरै मन्त्रालयको जिम्मेवारी एकै जनासँग हुँदा निर्णय गर्नेमा समय लाग्छ,’ उनले भने । मन्त्रीसँग सचिवको भेट हुनकै लागि पनि समय नहुने भएकाले नीतिगत निर्णय गर्नमा अरस पर्ने काइरालाको भनाइ छ । समग्रमा मन्त्री नहुँदा राजकाजमा समस्या हुने उनले बताए ।
मन्त्रालयमा मन्त्री खाली हुँदा अर्कोलाई जिम्मेवारी दिएको खण्डमा सहज हुने भए पनि आफैले राखेकाले असजिलो बनेको कोइरालाको भनाइ छ । ‘खाली हुन वित्तीकै अर्कालाई जिम्मेवारी दिएको भए एक मन्त्रीले दुई–तीन वटा मन्त्रालय चलाउँथे । जसले सजिलै हुन्थ्यो र सबै प्रधानमन्त्रीले लिदा गारो हुन्छ,’ उनले भने ।
अहिले सरकारमा उपप्रधानमन्त्रीका रुपमा नारायणकाजी श्रेष्ठ रहेका छन् । उनले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका जिम्मेवारी सम्हालेका छन् । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारीमा रेखा शर्मा, खानेपानी मन्त्रीमा अब्दुल खाँ, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा सुदन किराती रहेका छन् । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्रीका रुपमा सुशिला सिर्पाली ठकुरी रहेका छन् ।
६ सदस्यीय मन्त्रिपरिषद भए पनि प्रधामन्त्रीले अन्य मन्त्रीलाई थप जिम्मेवारी दिएका छैनन् । उपराष्ट्रपतिको चुनाव सकिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गरिने प्रधानमन्त्री प्रचण्डले बताइसकेका छन् । प्रधानमन्त्रीलाई धेरै मन्त्रालयको जिम्मेवारी लिदा ओभार लोड पर्ने देखिएको छ । चुनावी सरकार भएको खण्डमा खासै समस्या नपर्ने भए पनि नयाँ बनेको सरकारसँग धेरै अपेक्षा हुने भएकाले सरकारलाई पूर्णता दिने तिर लाग्नु पर्ने प्रशासन क्षेत्रका जानकारहरुको भनाइ छ ।
अर्का पूर्व मुख्यसचिव लिलामणी पौडेलले भने यो विषय सरकारमा रहेकाहरुलाई जानकारी हुने बताए । ‘पूर्व मुख्यसचिव भएकाले अहिले बोल्ने कुरा अनुमान मात्रै हुन्छ,’ उनले भने । यता बहालवाला मुख्यसचिव शंकरदास वैरागीले भने यो विषयमा बोल्न नमिल्ले बताए ।








