पालिका स्थापना दिवसमा उपप्रधानमन्त्री श्रेष्ठ गृह जिल्लामा

1.23K
shares
Krishi Bikas Bank

गोरखा, २७ फागुन । गाउँपालिका स्थापना दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शनिवार गृहजिल्ला गोरखाका दुई छुटाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।

आरुघाट गाउँपालिकामा आयोजित कार्यक्रममा पालिकाभरीका चार उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको थियो। त्यसक्रममा उत्कृष्ट तरकारी उत्पादक कृष्णबहादुर गुरुङ, फलफुल उत्पादक नारायण न्यौपाने, पशुपालक सुकबहादुर नेपाली र माछा उत्पादक इन्द्रबहादुर खड्कालाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले जनताले अनुभुत गर्नेगरी सामाजिक आर्थिक विकास गरेर गोरखालाई नमुना जिल्ला बनाउनुपर्नेमा जोड दिनुभयो। पालिका अध्यक्ष राजु गुरुङले विभिन्न योजनाको आवश्यकता औंल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठलाई मागपत्र पेस गर्नुभएको थियो।

उपप्रधानमन्त्री श्रेष्ठले धार्चे गाउँपालिकाको स्थापना दिवसलाई समेत सम्बोधन गर्नुभएको थियो। त्यसक्रममा पालिका अध्यक्ष लक्ष्मण गुरुङ, गण्डकी प्रदेशका पूर्व प्रदेश राज्यमन्त्री छमबहादुर गुरुङ लगायतले सडक र पुल निर्माण एवं विस्तारमा जोड दिनुभएको थियो।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहित गोरखा पुग्नुभएका श्रेष्ठले सडक निर्माणलाई उच्च प्राथमिकतामा राखिएको र सेनाले निर्माण गर्दैगरेको बेनीघाट-लार्केभञ्ज्याङ् ९२ किलोमीटर सडकलाई हरहालतमा सम्पन्न गरिने बताउनुभयो। त्यसक्रममा पालिकाका विभिन्न क्षेत्रका व्यक्तित्व र पूर्व जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो।

त्यससँगै उपप्रधानमन्त्री श्रेष्ठले पालिकामा विकास हाइड्रोपावर कम्पनि लिमिटेडद्वारा प्रबर्द्धन गरिएको चार दशमलव ५५ मेगावाटको माथिल्लो माच्छा खोला साना जलबिद्युत आयोजनाको समेत अवलोकन गर्नुभएको थियो।


Krishi Bikas Bank
franklin 1200*150