खिजिदेम्बा अल्ट्रा ट्रेल रेसको उपाधि सुमन र सुनमायालाई

2.21K
shares
Krishi Bikas Bank

काठमाडौं, २१ फागुन । खिजिदेम्बा अल्ट्रा ट्रेल रेस २०२३ को उपाधि सुमन कुलुङ र सुनमाया बढाले जितेका छन् । अल्ट्रा ट्रेल रेसको पुरुष तर्फको उपाधि सोलुखुम्बुका कुलुङ र महिला तर्फको उपाधि जुम्लाकी बुढाले हात परेका हुन् ।

कुलुङले निर्धारीत ४२ किलोमिटरको दुरी ३ घण्टा ४९ मिनेटमा पुरा गरे भने तीन घण्टा ५० मिनेटमा दुरी पुरा गरेका भोजपुरका तीर्थ तामाङ दोस्रो भए । त्यसैगरी सोलुखुम्बुकै अर्जुन कुलुङले तीन घण्टा ५५ मिनेटमा दुरी पार गर्दै तेश्रो भएका छन् । चार घण्टा १८ मिनेटमा दुरी पार गरेका बैतडीका मोहनदेव जोशी सान्त्वना भएका छन् ।

त्यस्तै महिला तर्फ जुम्लाकै मञ्जु रावल दोस्रो र खोटाङ्की प्रिया राईले तेस्रो स्थान हासिल गरे । सिन्धुपाल्चोककी रितु तामाङ सान्त्वना भइन् । विजेता खेलाडीहरूलाई क्रमशः ७० हजार, ५५ हजार, ४५ हजार र २५ हजार नगदसहित मेडल, प्रमाणपत्रले सम्मानित गरिएको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए ।

ओखलढुङ्गाको पर्यटकीय क्षेत्र पीके डाँडा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष रेसको आयोजना गर्ने गरिएको छ । पीके डाँडा समुन्द्र सहतदेखि ५ हजार मिटरको उचाइमा रहेको छ ।
प्रतियोगितामा स्थानीय स्तरमा खेलाडीलाई समेत प्रोत्साहन गर्ने उद्देश्यसहित स्थानीय विजेताको पनि घोषणा गर्ने गरिएको छ । स्थानीय तर्फ पुरुषतर्फ कृति राई पहिलो, रवीन्द्र तामाङ दोस्रो र देवराज तामाङले तेस्रो स्थान हासिल गरे । महिलातर्फ पदमकुमारी सुनुवार प्रथम, खिनुमाया भुजेल दोस्रो र अनिता सुनुवारले तेस्रो स्थान हासिल गरे । स्थानीय तर्फका विजेतालाई क्रमशः २० हजार, १५ हजार र १० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा देश विदेशका ४० पुरुष र १८ महिला गरी ५८ जना धावक धाविकाको सहभागिता रहेको थियो ।

ओखलढुङ्गा पर्यटन विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा नेपाल पर्यटन बोर्ड खिजीदेम्बा गाउँपालिका ओखलढुङ्गाले प्रायोजन गरेको थियो । पर्यटन गन्तव्यको प्रवर्द्धनसँगै साहसिक खेलबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्यसँगै खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गर्ने गरिएको नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले जानकारी दिए ।

दौड खिजिदेम्बा गाउँपालिकाको खिजिफलाटे बजारदेखी चुप्लु भञ्ज्याङ, थोलेदेम्बा डाँडा, ताक्लुङ, लामुजे, बुलबुले, फाक्से, खुन्दुर्के, दोराखार्क, ताउर, दोब्रे भञ्ज्याङ हुँदै पुन खिजिफलाटे बजारमा आएर सकिएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150