सिभिल बैंकका कर्मचारीहरुले गरे आन्दोलन, २ घण्टा सम्पूर्ण सेवा बन्द
वि.सं.२०७९ माघ २५ बुधवार १२:१२
shares

काठमाडौं, २५ माघ । हिमालयन बैंकसँगको मर्जरको क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरुले आन्दोलन सुरू गरेका छन् । सहमति तोडेर हिमालयन बैंकले सिभिलबाट आउने तल्लो तहका कर्मचारीलाई घटुवा गर्ने भनेपछि आज देशभरको शाखामा पेनडाउन हुने भएको हो ।
सिभिल बैंकका कर्मचारी युनियनका अध्यक्ष सत्यन्द्र निरौलाले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा आज बिहान १० बजेदेखि २ घण्टाका लागि देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू गरेको बताए ।
कर्मचारी समायोजनमा व्यवस्थापनसँग छलफल भइरहेको र उनीहरूलाई दबाब बढाउन पेन डाउन गरेको उनले बताए ।
हिमालयन र सिभिल बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता गत असारमा र अन्तिम मर्जर सम्झौता गत पुसमा भएको थियो । तर एकीकृत कारोबार फागुनबाट सुरु गर्ने तयारी छ । अहिले सफ्टवेयर मिलान, कर्मचारी समायोजन लगायतका काम भइरहेको छ ।








