सम्पति शुद्धीकरण सम्बन्धी ऐनको उल्लंघन गर्ने ४ वाणिज्य बैंकलाई जरिवाना
वि.सं.२०७९ माघ २५ बुधवार १२:२४
shares

काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गर्ने चार वाणिज्य बैंकलाई जरिवाना तिराएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा राष्ट्र बैंकले प्रभु बैंक, कुमारी, तत्कालिन बैंक अफ काठमाण्डू अर्थात हालको ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको हो ।
यी चार बैंकहरुले सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले जनाएको छ ।
यस्तै नियामकीय मापदण्ड पूरा नगर्ने माछापुच्छ्रे, सानिमा, तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक,सिभिल बैंक, नबिल र प्रभु बैंकलाई पनि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०७८ को कार्यान्वयनको सम्बन्धमा क्यासटिल एडिक्युसी फ्रेर्मवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको कारणले पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको देखिएकोले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै प्रभु बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन उल्लङ्घन हुने गरी तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएकोले बैंकलाई सचेत गराइएको जनाएको छ ।
यसैगरी तत्तकालिन नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक र सिभिल बैंकले एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः बृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन ।” भन्ने व्यवस्थाको अनुपालना नगरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।








