सगरमाथा जलविद्युतको आईपीओ खुल्यो, क–कस्ले आवेदन दिन पाइने ?

2.02K
shares
Krishi Bikas Bank

काठमाडौं, ५ माघ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आजबाट पहिलो चरणको आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोडको १० प्रतिशत अर्थात् प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ११ करोड २० लाख बराबरको ११ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि छुट्याइको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।

यो शेयर खरीद गर्न न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतमको हकमा स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओ माघ १९ गतेसम्म बिक्रीमा रहनेछ । माघ १९ सम्ममा मागबमोजिम आवेदन नपरेमा फागुन ५ गतेसम्म आईपीओमा निवेदन दिने अवधि लम्ब्याइनेछ । माग बमोजिम आवेदन परेमा माघ १९ गतेसम्म मात्र स्थानीयमा शेयर बिक्री गरिने बिक्री प्रबन्धकको भनाइ छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १९ गतेभित्रै आवेदन दिनुपर्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइनसम्बन्धी व्यवस्थाबाट समेत प्रतिदरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाई आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले भने नेपाल सी–आस्बा प्रणालीमार्फत मात्र आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।


Krishi Bikas Bank
franklin 1200*150