विकास बैंकको सम्पत्ति र दायित्व ६ खर्ब बढी
वि.सं.२०७९ पुस १४ बिहीवार १०:१७
shares

काठमाडों, १४ पुस । नेपालका विकास बैंकको सम्पत्ति र दायित्व ६ खर्ब बढी पुगेको छ । विकास बैंकहरुको सम्पत्ति र दायित्व गत आथिृक वर्षमा ६ खर्ब ३३ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । जुन १६.६८ प्रतिशतले बढी हो ।
२०७८ असार मसान्तसम्म विकास बैंकहरुको सम्पत्ति तथा दायित्व ५ खर्ब ४३ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा विकास बैंकको सम्पत्ति र दायित्व ९० अर्ब ६१ करोड रुपैयाँले बढेको हो ।
यो अवधिमा विकास बैंकहरूको कुल निक्षेप १४.२८ प्रतिशतले बढेर ५ खर्ब ९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ४ खर्ब ४५ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा विकास बैंकको निक्षेप ६३ अर्ब ६५ करोड रुपैयाँले बढेको छ । विकास बैंकको निक्षेप संकलनभन्दा कर्जा लगानी बढी रहेको छ । गत आवमा १४.२८ प्रतिशतले निक्षेप बढेको छ भने कर्जा प्रवाह १५.२० प्रतिशतले बढेको छ ।
यस्तै विकास बैंकको कुल पुँजीकोष २५.१६ प्रतिशतले बढेको छ । अघिल्लो आवको असार मसान्तमा ४८ अर्ब ७७ करोड रुपैयाँ रहेको पुँजीकोष गत असार मसान्तसम्म २५.१६ प्रतिशतले बढेर ६१ अर्ब ४ करोड रुपैयाँ कायम भएको छ । यता प्राथमिक पुँजी कोष पनि १३.७५ प्रतिशतले बढेर ४९ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा पुँजी कोष ४३ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।








