निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०७९ पुस १४ बिहीवार १०:२१
shares

काठमाडौं, १४ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले निष्काशन गरेको उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम रहेको छ । बैंकले मंसिर २९ गते बिहीबारदेखि ५ अर्ब मूल्यको बराबरको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५÷८६’ नामक ऋणपत्र निष्काशन गरेको हो ।
वार्षिक ७ प्रतिशत ब्याजदरमा बैंकले ७ वर्ष अवधिको उक्त ऋणपत्र निष्काशन गरेको हो । प्रतिइकाई एक हजार अंकित दरका ५० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको छ ।
सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बैंकको ऋणपत्रमा लगानी गर्नेले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।








