५ महिनामा १२ अर्ब बढीको मोबाइल आयात
वि.सं.२०७९ पुस ८ शुक्रवार १४:१९
shares

काठमाडौं, ८ पुस । चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालमा मोबाइल आयात ४६ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म मोबाइलको आयातमा ४६ प्रतिशतले गिरावट आएको हो ।
पछिल्लो समय सरकारले मोबाइल फोनको आयातमा कडाइ गरेका कारण आयात घटेको हो । सरकारले तरलता अभावको कारण देखाउँदै वैशाख १३३ गतेदेखि ६०० अमेरिकी डलरभन्दा महंगो र असार ३१ गते राजपत्रमा सूचना प्रकाशित गरेर ३०० अमेरिकी डलरभन्दा बढी मूल्यको मोबालइल आयातमा प्रतिबन्ध लगाएको थियो । मंसिर महिनाभरी यस्तो आयात प्रतिबन्ध कायम रहेको थियो ।
पछिल्लो समय पुस १ गतेदेखि लागू हुनेगरी सम्पूर्ण वस्तुको आयात प्रतिबन्ध फुकुवा गरेको छ । सरकारले विलासिताको १० वस्तुको आयातमा कडाइ गरेको थियो । गत आर्थिक वर्षको अन्त्यतिरबाट आयातमा लगाएको प्रतिबन्धको समयमा पनि नेपालमा १२ अर्बभन्दा बढी मूल्यका मोबाइल फोन आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
मंसिर मसान्तसम्म १२ अर्ब २९ करोड ४८ लाख रुपैयाँको मोबाइल फोन आयात भएको छ । यो अवधिमा २० लाख ३२ हजार ५२७ वाट मोबाइल सेट आयात भएको विभागको तथ्यांक छ । नेपालमा गत आर्थिक वर्षको सुरुका पाँच महिनाको अवधिमा भने २२ अर्ब ९९ करोड २५ लाख ५१ हजार रुपैयाँको ३० लाख ७१ हजार १५० वटा मोबाइल सेट आयात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष ४६.०९ प्रतिशतले आयातमा कमी आएको छ । चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा सरकारले मोबाइल आयातबाट २ अर्ब २७ करोड ५२ लाख ७२ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।
यो अवधिमा नेपालले सबैभन्दा बढी मोबाइल चीनबाट आयात गरेको छ । विभागअनुसार ५ महिनामा चीनबाट मात्रै ८ अर्ब ५८ करोड ६२ लाख ९६ हजार रुपैयाँको १६ लाख ६१ हजार ३६९ सेट मोबाइलफोन आयात भएका छन् । त्यस्तै भारतबाट ३ अर्ब ३९ करोड ३३ लाख ८० हजार रुपैयाँको ३ लाख ६३ हजार ९३ सेट मोबाइलफोन भारतबाट आयात गरेको छ ।
त्यसैगरी, पाँच महिनाको अवधिमा अष्ट्रेलियाबाट ४ करोड ७१ लाख ५२ हजार रुपैयाँको ४५५ सेट, हङकङबाट १ करोड ४४ लाख ४१ हजार रुपैयाँको १४० सेट मोबाइल, जापानबाट ५ करोड ४ लाख रुपैयाँको ७८८ सेट, २ करोड ५२ लाखको ४१८ सेट, १ करोड ८५ लाख रुपैयाँको २०१ सेट, ९ करोड ८७ लाख रुपैयाँको १ हजार ३० सेट, १ करोड १७ लाख रुपैयाँको १३१ सेट, ८ करोड १२ लाख रुपैयाँको ८०० सेट र ३ करोड ५३ लाख ८२ हजार रुपैयाँको ३ हजार ७०० सेट मोबाइलफोन आयात गरेको छ ।
त्यस्तै यो अवधिमा क्यानाडाबाट ३४ लाख रुपैयाँको ३२ सेट, डेनमार्कबाट ११ लाख रुपैयाँको ९ सेट, ५० लाख रुपैयाँको ६० सेट, २२ लाख रुपैयाँको ३७ सेट, ३८ लाख रुपैयाँको ६५ सेट, पोर्चुगलबाट १० लाख रुपैयाँको १२ सेट, साउदी अरेबियाबाट २८ लाख ५६ हजार रुपैयाँको ४० सेट र सिंगापुरबाट २३ लाख रुपैयाँको २३ सेट मोबाइलफोन आयात गरेको छ ।








