छिमेक लघुवित्तको खराब कर्जा घटेसंगै नाफामा वृद्धि

1.45K
shares
Krishi Bikas Bank

काठमाडौं, २० कात्तिक । छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले ३२ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आइतवार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ५३ दशमलव ७१ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्षको उक्त अवधिमा यो लघुवित्तले २१ करोड ४१ लाख रुपैयाँ नाफा गरको थियो ।

लघुवित्तको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि हुनुका साथै खराब कर्जा घट्दा नाफा वृद्धि हुनमा सहायोग पुगेको देखिन्छ । कम्पनीको खराब कर्जा शून्य दशमलव ८१ प्रतिशतमा झरेको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो खराब कर्जा १ दशमलव शून्य ३ प्रतिशत थियो ।

त्यस्तै कम्पनीले पहिलो त्रैमासमा ७३ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५३ करोड ३८ लाख रुपैयाँ थियो । कम्पनीले तीन महिनाको अवधिमा ४६ करोड ६९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

कम्पनीले असोज मसान्तसम्म २८ अर्ब ५१ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३३ अर्ब ५९ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । उक्त अवधिमा ४ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ सापटी लिएको छ ।

कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा ३ अर्ब ९५ करोड ७८ लाख रुपैयाँ राखेको छ ।

असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ६४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ ३० पैसा छ । त्यस्तै प्रतिशेयर आम्दानी अनुपात १७ दशमलव ३९ प्रतिशत रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150