इलोन मस्कद्वारा निलो टिक सहितको ट्विटर खाताका लागि मासिक ८ डलर लिने घोषणा

2.08K
shares
Krishi Bikas Bank

काठमाडौं, १६ कात्तिक । इलोन मस्कले ट्विटरको प्रमाणित खाताका लागि प्रयोगकर्ताबाट मासिक ८ डलर शुल्क लिने बताएका छन् ।

उक्त सामाजिक सञ्जाललाई ४४ अर्ब डलरमा खरिद गरेपछि मस्कले ‘स्पाम/ठगीलाई पराजित गर्न’ त्यो अपरिहार्य रहेको जनाएका छन् ।

हाल मुख्य गरी उच्च पदस्थ व्यक्तिहरूको खातामा नामको पछाडि निलो टिक निःशुल्क छ । यो कदमले विश्वसनीय स्रोतहरू पहिचान गर्न अप्ठेरो बनाउने आलोचकहरूले बताएका छन् ।

विश्वका धनी व्यक्ति रहेका मस्कले शुल्क तिर्ने प्रयोगकर्ताहरूले थप सुविधा पाउने भन्दै उनीहरूले जबाफ दिँदा र खोजीमा प्राथमिकता पाउने र आधा विज्ञापनमात्रै प्राप्त गर्ने जनाएका छन् ।

मासिक ८ डलरमा निलो टिक दिने निर्णयले मानिसहरूलाई शक्तिशाली बनाउने भन्दै उनले विगतको खाता प्रमाणीकरण प्रणालीलाई ‘मालिक र दास प्रणाली’ का रूपमा उल्लेख गरेका थिए ।

यसअघिको ट्विटरको भेरिफिकेशन प्रणालीमा एउटा संक्षिप्त अनलाईन निवेदन फारम्म आवश्यक पर्थ्यो। त्यस्तो प्रमाणित खाता लोकप्रिय व्यक्तित्वहरू, राजनीतिज्ञहरू र पत्रकारहरूलाई उपलब्ध गराइन्थ्यो ।

सन् २००९ मा नक्कली खाताहरू नियन्त्रणका लागि पर्याप्त कदमहरू नचालेको आरोप सहित कानुनी चुनौतीहरूको सामना गर्नुपरेपछि उसको त्यस्तो निर्णय आएको थियो ।

तर वर्षौँदेखि नाफा नकमाइरहेको ट्विटरको व्यवसायलाई पुनर्संरचना गर्न खोजिरहँदा मस्कले ठूला चुनौतीहरू सामना गर्नुपर्ने देखिन्छ ।

उनले ट्विटरको विज्ञापन निर्भरता आफूले कम गराउन चाहेको बताएका छन्। मस्कको नेतृत्वमा उक्त वेबसाइटमा विज्ञापन दिने विषयमा कतिपयले चिन्ता व्यक्त गरेका छन् ।

मस्कको विद्युतीय सवारीसाधन सम्बन्धी कम्पनी टेस्लाको प्रतिस्पर्धीका रूपमा रहेको जेनरल मोर्टर्सले अघिल्लो हप्ता उक्त वेबसाइटमा विज्ञापन दिन आफूले रोक्ने बताएको थियो ।

कतिपय अरू ब्रान्डहरूले पनि मस्कले गर्ने परिवर्तनले कस्ता फेरबदल ल्याउँछन् त्यो हेर्नलाई मौन रूपमा विज्ञापनमा अस्थायी रोक लगाएको एउटा अग्रणी विज्ञापन फर्मका लगानीकर्ताले बताएका छन् ।

सोमबार संसारकै ठूलो मध्येको एउटा विज्ञापन कम्पनी आइपीजीले आफ्ना ग्राहकहरूलाई एक हप्ताका लागि ट्विटरमा विज्ञापन नगर्न सुझाव दिएको थियो ।

उसले उक्त माध्यमको ‘विश्वास र सुरक्षा’ बारे प्रस्ट हुन आवश्यक रहेकाले सो निर्णय गरिएको जनाएको थियो । आइपीजीलाई विश्वका कतिपय ठूला ब्रान्डले उनीहरूको मार्केटिङ लागि अर्बौँ पाउन्ड दिने गर्छन् ।

प्रारम्भिक खबरमा मासिक २० डलरसम्म शुल्क लिएर निलो टिक उपलब्ध गराउने भनिएपछि उक्त योजनाले आशङ्का उब्जाएको थियो । लेखक स्टिभन किङले ती विवरणको जबाफमा ट्विटरले बरु उल्टो ‘मलाई तिर्नुपर्छ’ भन्ने जवाफ दिएपछि त्यही आशयको धारणा धेरैले राखेका थिए ।

मस्कले चाहिँ किङलाई जबाफ दिने क्रममा ‘हामीले पनि कुनै तरिकाले खर्च ब्यहोर्नुपर्छ’ लेखेका थिए । बीबीसी


Krishi Bikas Bank
franklin 1200*150