स्थानीयका लागि भोलिबाट आईपीओ जारी गर्दै मोदी ईनर्जी

1.31K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ फागुन । मोदी ईनर्जी लिमिटेडले पहिलो चरणमा भोलिबाट आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीयमा बिक्री गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्र पर्वत जिल्लाअन्तर्गत साविक दुर्लुङ गाविस हाल कुश्मा नगरपालिका–३, साविक बाजुङ गाविस. हाल मोदी गाउँपालिका–५, साविक देवपुर गाविस हाल मोदी नगरपालिका–२, साविक तिलहर गाविस हाल मोदी गाउँपालिका–६ र साविक चुवा गाविस हाल कुश्मा नगरपालिका–८ का स्थानीय बासिन्दाले यो आईपीओका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता शेयर निष्कासन हुन लागेको हो ।

कम्पनीको आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गरी आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयका लागि यो आईपीओ चैत ९ गतेसम्म बिक्रीमा रहनेछ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा चैत २४ गतेसम्मका लागि बिक्री अवधि लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङमा इन्फोथेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने आईआरएन डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले प्रतिदरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।


Krishi Bikas Bank
franklin 1200*150