आयात प्रतिबन्ध हट्यो, गाडी, मदिरा, मोबाइल र मोटरसाइकल आयातको बाटो खुल्यो
वि.सं.२०७९ मंसिर २० मंगलवार १९:५३
shares

काठमाडौं, २० मंसिर । सरकारले विभिन्न वस्तुमाथि लगाएको प्रतिबन्ध हटाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस अघि गाडी, मदिरा, मोबाइल र मोटरसाइकल आयातमा लागएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
सरकारको यो निर्णयसँगै अब पुस १ गतेदेखि सबै वस्तुको आयात गर्ने बाटो समेत खुलेको छ । मन्त्रिपरिषद् बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । आयात प्रतिबन्ध हटाउन यसअघि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो ।
विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि वाणिज्य मन्त्रालयले गत १३ वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो । सरकारले प्रतिबन्ध थप परिस्कृत गर्दै ६ प्रकारका वस्तुहरुको प्रतिबन्ध हटाएर ५० हजार डलर भन्दा माथिका गाडी, ३ सय डलर भन्दा महँगो मोबाइल, सबै प्रकारका विदेशी मदिरा र १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याइएको थियो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुनेछ ।








