स्वदेशमै रोजगारी सत्ताको भर्याङ, दैनिक २४ सय युवा कामको खोजिमा विदेशतिर
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १८:४८
shares

काठमाडौं, २२ कात्तिक । स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरा सबै नेताहरुको मुखमा झुण्डीएको विषय हो । गाउँको सानो सभा होस् या ठुला ठुला सभाहरुमा पनि नेताहरुका मुखबाट स्वदेश मै रोजगारीको कुरा आइनै हाल्छ । चुनावको समयमा त यो झन उनीहरुका लागि मुख्य मसला हो ।
स्थानीय स्तरका नेताहरुले रोजगारी सिर्जना गर्ने भन्ने कुरा गरे । चुनाव सकियो उनीहरुले काम गरेनन् । त्यसपछि अहिले संघ र प्रदेशको चुनावको मिति नजिकिएको छ । फेरि पनि नेताहरु चुनाव प्रचारका लागि घरघरमा पुगिरहेका छन् । उनीहरुले पनि भाषण गर्दा स्वदेशमा रोजगारी सिर्जनालाई प्राथमिकताका साथ उठाएका छन् ।
चुनावी नारा बनाउने नेताहरुले त्यसपछि भने यो विषयमा खासै काम गरेको पाइदैनन् । अघिल्लो सरकारले वि.स २०७५ सालको जेठ ८ गते ल्याएको नीति तथा कार्यक्रममा ५ वर्ष भित्र स्वदेशमै रोजगारी सिर्जना गरेर विदेश जानु पर्ने बाध्यताको अन्त्य गर्ने कुरा उल्लेख गरिएको थियो । सरकारले ल्याएको यो कार्यक्रम सकिनका लागि अब एक आर्थिक वर्षमात्रै बाँकी रहेको छ । तर विदेश जाने तथ्यांकले भने सरकारको यो निर्णयलाई ठाडै चुनौति दिइरहेको छ ।
पहिले दैनिक १ हजार ५०० का दरले युवाहरु विदेश गइरहेका छन् । देशमा रोजगारीको अवसर छैन भन्ने कुरा उठ्ने गरेको अहिले यो संख्या बढेर दैनिक १ हजार ७०० पुगेको आप्रवासन विज्ञ रामेश्वर नेपालले बताए । सरकारले लिएको नीति कार्यान्वयन गर्न नसक्दा देशमा रोजगारीको अवस्था सिर्जना हुन नसकेको उनको भनाइ छ । ‘राज्यले दुई किसिमका नीति लिएको छ । एक २०७५ को जेठ ८ गतेको नीति कार्यक्रममा विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने अर्को ७ वर्ष अघिदेखि फ्रि भिसा र फ्रि टिकटमा विदेशमा रोजगारीका लागि पठाउने । यो त बाझियो नि । राज्य नै प्रष्ट नभएको अवस्थामा नेताहरुले रोजगारी दिन्छौँ भन्नु सत्तामा पुग्ने माध्यम मात्रै हो,’ उनले भने ।
विदेश जानेहरुसँगको कुराकानीका क्रममा उनीहरुले गरिवी र वेरोजगारीका कारण विदेश जानु परेको बताउने गरेको नेपालको भनाइ छ । ‘सरकारले विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने र स्वदेशमा रोजगारी दिने, रोजगारी दिन नसके निर्वाह भत्ता दिने बताएको थियो । त्यसमा बजेट पनि विनियोजन भएको थियो । तर त्यो शिर्षमा छुट्याएको बजेट नै रकमान्तरण भयो,’ नेपालले भने । त्यस्तै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सञ्चालन गरेको छ । तर त्यो कार्यक्रमको पैसा पनि खर्च नभएको अवस्थामा हाम्रा क्षमतामा नै प्रश्न खडा भएको उनको भनाइ छ ।
संघ र प्रदेशको चुनाव आउनका लागि केही हप्ता बाँकी छ । केही नेताहरुले सित्तैमा विदेश पठाइदिने भाषण गरे । जुन भाषणको सामाजिक सञ्जालमा निकै खिसिट्युरी भयो । नेताहरुले आफूलाई भोट दिए रोजगारीका लागि विदेश पठाइदिने आश्वासन समेत दिए । यो विषयले पनि निकै चर्चा पायो । तर सरकार सञ्चालन गरेका नेताहरुले नै यस्तो भनिरहँदा उनीहरुलाई राज्यको नीतिका विषयमा जानकारी थियो वा थिएन भन्ने प्रश्न पनि उठिरहेको छ ।
सरकारले ७ वर्ष अघि नै रोजगारीका लागि खाडी तथा मेलेसियामा रोजगारीका लागि जाँदा सेवा शुल्क मात्रै तिर्नु पर्ने निर्णय गरेको थियो । सरकारले गरेको व्यवस्था कार्यान्वयनमा भने आउन नसकेको वैदेशिक रोजगार व्यवसायीहरुले नै बताउँने गरेका छन् ।
चालु आर्थिक वर्षको सुरुको तीन महिनामा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको सुरुको तीन महिनाको तुलानामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा श्रम स्वीकृति लिएर विदेश जानेको संख्यामा करिब १ लाखले वृद्धि भएको छ । यो तथ्यांकले पनि राज्यको नेतृत्व गर्नेहरुलाइ गिज्याइरहेको छ । रोजगारी सिर्जना गर्छौँ भन्ने नेताहरुलाई पनि यसले कुरीकुरी गरिरहेको छ । कोरोनाका कारणले केही समयसम्म निकै सुस्ताएको वैदेशिक रोजगारी पछिल्लो समय लयमा फर्किएको छ ।
विदेश जानेको संख्यामा निकै वृद्धि भइरहेको छ । यो तथ्यांकमा रोजगारीका लागि भारत जाने संख्या जोडिएको छैन् । कर्णाली र सुदुरपश्चिम प्रदेशबाट रोजगारीका लागि विदेश जानेको संख्या निकै धेरै रहेको छ । तर यो सरकारी तथ्यांकमा कतै पनि समावेश छैन् ।
गत आर्थिक वर्षको असोज मसान्तसम्म १ लाख १ हजार १३९ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा २ लाख १४८ जना रोजगारीको खोजिमा विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको तीन महिनाको अवधिमाभन्दा चालु आर्थिक वर्षको सुरुका सबै तीन महिनामा रोजगारीका लागि विदेश जानेको संख्यामा निकै वृद्धि भएको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालबाट २५ हजार ४२८ जना रोजगारीका लागि विदेश गएको विभागको तथ्यांक छ । त्यस्तै भदौ महिनामा ७४ हजार ४०३ जनाले श्रम स्वीकृति लिएर रोजगारीका खोजिमा विदेश गएको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ३६ हजार ४० जना रोजगारीको खोजिमा विदेश गएका थिए ।
त्यस्तै असोज महिनामा भदौ महिनाकोभन्दा केही कम ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा भने ३९ हजार ६७१ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।
पछिल्लो तीन महिनाको तथ्यांक हेर्दा नेपालबाट औषत दैनिक २ हजार २०० जना युवाहरु विदेश गइरहेका छन् । तर भदौ महिनाको तथ्यांक हेर्नेहो भने औषतमा २ हजार ४०० युवा रोजगारीको खोजिमा विदेश गइरहेका छन् ।
मलेसिया जाने मात्रै ४३ प्रतिशत
चालु आर्थिक वर्षको सुरुको तीन महिनामा वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै श्रमिक मलेसिया गएका छन् । तीन महिनाको अवधिमा नेपालबाट रोजगारीका लागि ८६ हजार ९१८ जना मलेसिया गएको विभागको तथ्यांकले देखाएको छ । जुन तीन महिनामा रोजगारीका लागि विदेश गएका जम्मा संख्याको ४३.४२ प्रतिशत हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेश जानेमध्ये अधिकांश मलेसिया, साउदी अरब, युएई र कतार गएको देखिएको छ । हरेक महिना ८० भन्दा धेरै देशमा रोजगारीका लागि श्रम स्वीकृत दिएर जाने गरेको विभागको तथ्यांक छ । तर यी चार देशमा गएका श्रमिकको संख्या मात्रै ढेड लाख बढी रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालबाट यी चार देशमा जाने श्रमिकको संख्या १ लाख ६५ हजार ४८१ रहेको छ । जुन तीन महिनामा विदेश जाने जम्मा संख्याको ८२.६८ प्रतिशत हो ।
तीन महिनामा मलेसियापछि सबैभन्दा धेरै श्रमिक गएको राष्ट्र हो कतार । कतारमा रोजगारीका लागि ३४ हजार १८८ जनाले श्रम स्वीकृति लिएर गएको तथ्यांकले देखाएको छ । त्यस्तै यो अवधिमा युएई जानेको संख्या २४ हजार ३५० र साउदी अबर जानेको संख्या २० हजार २५ जना रहेको छ ।
दुई महिनामा करिब २ खर्ब रेमिट्यान्स भित्रियो
नेपालबाट रोजगारीका लागि विदेश जानेको संख्यामा वृद्धि भएसँगै नेपाल भित्रिने रेमिट्यान्स पनि बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दुई महिनामा विदेशबाट करिब २ खर्ब बराबरको रेमिट्यान्स भित्रिएको छ । केन्द्रीय बैंकको साउन र भदौ महिनाको तथ्यांक अनुसार १ खर्ब ८७ अर्ब ३ करोड ९२ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ९२ अर्ब २० करोड ६७ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । त्यस्तै भदौ महिनामा ९४ अर्ब ८३ करोड २५ लाख रुपैया रेमिट्यान्स भित्रिएको छ ।








