बैंक विरुद्धको आन्दोलनमा बैंक सञ्चालक नै सहभागी

2.2K
shares
Krishi Bikas Bank

काठमाडौं, १८ कात्तिक । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा व्यवसायीको विरोध प्रदर्शनमा अनौठौ दृश्य देखियो । व्यवसायीहरुले बैंकले बढाएको ब्याजदरको विरोधमा मौन विरोध प्रदर्शन गरेका थिए । तर बैंक विरुद्धको आन्दोलनमा बैंकका सञ्चालकहरु नै सहभागि भएका थिए ।

बैंकले बढाएको ब्याजदरको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा प्रदर्शन गर्न पुगेको व्यवसायीको टोलीमा केही बैंकका सञ्चालकहरु समेत देखिए । जुन आफैमा अनौठो थियो ।

विरोध प्रदर्शनमा एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र सांघाई, सिटिजन्स बैंकका सञ्चालक प्रवलजंग पाण्डे पनि सहभागि भएका थिए । सांघाई महासंघको उपाध्यक्ष हुने भने पाण्डे कार्यकारीणी सदस्य हुन् ।

बैंकले बढाएको ब्याजदरका कारण उद्योग सञ्चालनका लागि समस्या भएको भन्दै व्यवसायी सडकमा उत्रिनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । बढेको ब्याजदरमा ऋण लिन सक्ने अवस्था नरहेको उनले बताए ।

प्ले कार्ड र ब्यानर सहितको मौन प्रदर्शनमा महासंघका तीन जना उपाध्यक्षहरुको सहभागिता रहेका थियो । उपाध्यक्ष दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईको उपस्थिति रहेको थियो । बैंकले ब्याजदर प्रिमियम, चालु पुँजी निर्देशिका लगायतका नीतिका कारण व्यवसायी पलायन हुने अवस्था आएको उनीहरुको भनाइ छ ।

‘बैंक पनि निजी क्षेत्रको साझेदार भएकाले उ अहिले फाइदामा पनि रहेको छ । फाइदानमा रहेको समयमा पनि ब्याजदर बढाएर बैंकहरुले व्यवसायीलाई दुख दिएका छन्, यसमा नियमनकारी निकाय मुखदर्शक बनेको छ,’ उपाध्यक्ष दिनेश श्रेष्ठले भने । अवस्था यहि रहीरहने हो भने व्यवसायीहरु पलायन हुने अवस्था देखिएको व्यवसायीहरुको भनाइ थियो ।

व्यवसायीले मुख्य ५ वटा माग अगाडि सार्दै मौन प्रद्धर्शन गरेका हुन् । निक्षेपमा ब्याजदर बढाउँदैमा निक्षेप नबढेको भन्दै उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा १/२ प्रतिशत मात्र थप गरी लिन पाइने गरी लगानी योग्य पुँजीको शीघ्र व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।

त्यस्तै बैंकहरुको खर्च न्यून गरी स्प्रेड दर ३ भित्र रही जोखिमका आधारमा आधार दरमा बढीमा २ प्रतिशत मात्रै थप प्रिमियम लिन पाइने व्यवस्था गर्नुपर्ने माग उद्योगी व्यवसायीको छ । त्यस्तै बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी–नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्य गरी गत वर्षको भन्दा बढी लिन नपाइने व्यवस्था गर्नुपर्ने, हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनःतालिकीरण गरी, ब्याज बुझाउने म्याद ३५ दिनसम्म लाई नियमित मानेर लिलाम गर्ने प्रक्रिया लाई हाल स्थगित गर्नुपर्ने माग उनीहरुको रहेको छ । त्यस्तै हालको बाह्य र आन्तरीक कारणको असहज समय उपयुक्त नभएकोले चालु पुँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने समेत उनिहरुको माग छ ।

प्रदर्शनमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक लगायत विभिन्न नगर उद्योग वाणिज्य संघको सहभागिता रहेको थियो ।


Krishi Bikas Bank
franklin 1200*150