‘लघुवित्तविरुद्ध अराजक गतिविधि भयो, ऋण खाएपछि तिर्नै पर्छ’

5.25K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ फागुन । इन्फिनिटि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविणकुमार लामाले लघुवित्त विरुद्ध अराजक गतिविधि भएको भन्दै तत्कालै नियन्त्रण गर्नुपर्ने बताएका छन् । केटिएम भ्वाइससँगको कुराकानीमा उनले कहिले संघर्ष समिति बनाएर त कहिले दुर्गा प्रसाईं जस्ता व्यक्तिहरुले अराजक गतिविधि गरेको भन्दै यसलाई नियन्त्रण गर्न माग गरेका हुन् ।

अहिले आन्दोलनका कारण पनि लघुवित्त क्षेत्रमा समस्या देखिएको सीईओ लामाले बताए । लघुवित्तले शोषण गरेको कुरा पनि गलत भएको उनको भनाइ छ । ‘कुनै पनि लघुवित्तले शोषण गरेका छैनन्, यो सबै गलत कुरा हो’ उनले भने, ‘सस्तो लोकप्रियताका लागि हुने यस्ता क्रियाकलापहरु बन्द हुनुपर्छ ।’

कालोमोसो दल्ने जस्ता गम्भीर अराजक गतिविधि खुलेआम घोषणा हुनु देशको कानूनको उलंघन भएको उनले बताए । पछिल्लो समय केही लघुवित्त वित्तीय संस्थाका ग्राहकहरुले नियमित किस्ता बुझाएका छैनन् । यो पनि आन्दोलनकै असर भएको उनले बताए । उनका अनुसार अहिले आफ्ना ग्राहकहरुलाई लघुवित्तहरुले पनि बुझाइरहेका छन् ।

ऋण लिएपछि तिर्नै पर्छ भन्ने सबै ग्राहकले बुझेको भन्दै उनले भने, ‘आन्दोलनमा उपस्थित हुने सयमा २ देखि ४ प्रतिशत होलान्, नबुझेका मान्छेलाई दुर्गा प्रसाईं जस्ताले उपयोग गरेका हुन् ।’

ऋण मिनाहा हुने कुरा सोच्न पनि नसकिने भन्दै त्यस्तो भ्रममा कोही पर्न नहुने उनले बताए । लघुवित्त संस्थामा पछिल्लो समय ऋण नउठ्ने समस्या जटिल बन्दै गएको छ । कतिपयले नियमित किस्ता बुझाउन पनि छाडेका छन् । ‘आन्दोलनका कारण ऋण मिनाहा हुन्छ कि भनेर कतिले किस्ता तिर्नै ठप्प पार्नु भएको छ’ सीईओ लामाले भने, ‘ऋण मिनाहा हुने सम्भावनै छैन, तिर्नेले खुरुखुरु तिर्नुपर्छ ।’ असल ऋणीलाई कुनै महिना किस्ता तिर्न गाह्रो परेको अवस्थामा भने संस्थाले केही सहजीकरण गर्न सक्ने उनले बताए ।


Krishi Bikas Bank
franklin 1200*150