सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी बुधबारदेखि हुने
वि.सं.२०७९ फागुन २१ आइतवार १८:५८
shares

काठमाडौं, २१ फागुन । ‘प्रविधियुक्त सेवा र सुशासन दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि हुने भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा फागुन २४ र २५ काठमाडौंको द सोल्टी होटलमा हुँदैछ । गोष्ठीमा ४ सय ५० जनाको सहभागीता रहने र आईतबार बेलुकासम्म ३९८ जना व्यवस्थापकहरुले रजिष्ट्रेशन भैसकेको आइतबार राजधानीमा पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
नेपालका वित्तीय सहकारीका व्यवस्थापकीय प्रमुखहरुलाई समेटी गोष्ठीको आयोजना गरी प्राप्त उपलब्धीका सन्देशहरुको प्रवाह गर्दै जानु नेफ्स्कूनको दायित्व भएकोले प्रथम र दोस्रो गोष्ठीको सिकाई र व्यवस्थापन प्रमुखहरुको माग एवम् आवश्यकताको आधारमा गोष्ठी आयोजना गर्न लागिएको गोष्ठी व्यवस्थापन कार्यदलका संयोजक तथा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले बताए ।
उपलब्ध स्रोत र साधनलाई दृष्टिगत गरी वित्तीय सहकारी क्षेत्रका व्यवस्थापकीय तहमा कार्यरत कर्मचारी, नियमनकारी निकाय, सम्बन्धित सरोकारवाला एवम् विकास क्षेत्रका सहयात्रीहरु समेतको प्रतिनिधित्व रहने गरी करिब ४५० जना भन्दा बढी सहभागिता रहने व्यवस्था मिलाइएको पनेरुले बथाए । वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यवसायिक जनशक्ति विकास गर्नु गोष्ठीको उद्देश्य रहेको समेत संयोजक पनेरुले बताए ।
विश्वव्यापी नविनतम अभ्यास, अनुभव र सिकाईहरु मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्नु तथा राष्ट्रियस्तरमा भएका नविनतम र सफल अभ्यासहरु आदानप्रदान गर्नु समेत गोष्ठीको उद्देश्य रहेको उनको भनाई थियो ।
यस्तै गोष्ठीले वित्तीय सहकारीका लागि विकास गरेका नविनतम औजार र समाधानहरुको आन्तरिकीकरणको लागि दिशानिर्देश गर्नुका साथै कार्यरत जनशक्तिको उत्प्रेरणामार्फत तनाव रहित वातावरणमा कार्यसम्पादनका लागि प्रेरित गर्ने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले बताए ।
वित्तीय सहकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्ने तथा वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्ने गोष्ठीको उद्देश्य रहेको बताए ।








