अभागी नवलपरासीका जनता : नेता पाए, विकास पाएनन्

विनोद चौधरीको इन्ट्रीले फुट्ला विकासको मूल ?

1.27K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ माघ । गत निर्वाचन अघि केटिएम भ्वाइसमा व्यवसायीले राजनीति गर्दा राष्ट्रको हित हुन्छ कि नोक्सान ? शिर्षकमा एउटा सामाग्री प्रकाशन भएको थियो । उक्त सामाग्री प्रकाशन पछि नवलपरासी क्षेत्र नम्बर १ का एक व्यक्तिले फोन गरेर भनेका थिए, ‘राजनीतिकर्मीलाई नै जिताएर पठाउदा केही भएन, यस पटक चाहिँ हामी मत बदल्दैछौँ ।’

ति युवाहरुले आफूहरुले जिताएको सांसदबाट विकासको अनुभूति गर्न नपाएको गुनासो सुनाएका थिए । आफ्ना जनप्रतिनिधि सत्ता स्वार्थमा केन्द्रीत हुँदा विकासको अनुभव लिन नपाएको गुनासो उनको थियो । उनले भने जस्तै नवलपरासीले अहिलेसम्म पनि विकासको राम्रो अनुभूति गर्न गर्न पाएको छैन ।

नवलपरासी क्षेत्र नम्बर १ का जनताको निराशालाई स्वभाविकै मान्न यस अर्थमा सकिन्छ कि, यस क्षेत्रका प्रतिनिधि पटक पटक मन्त्री भए । तर, विकास भएन । स्थानीय युवा रमाकान्त चौधरीको भाषामा भन्ने हो भने, यहाँका जनताले ‘ठूलै नेता पाए, तर विकास पाएनन् ।’

यस क्षेत्रका जनप्रतिनिधि अहिले डलर अर्बपति बिनोद चौधरी हुन् । चौधरी पहिलो पटक यस क्षेत्रबाट सांसद बनेका हुन् । यस अिघ नेता हृदयस त्रिपाठी सांसद थिए । त्रिपाठी ठूलै नेता हुन् । २०४८ सालमै सांसद बनेका त्रिपाठी २०५१ र २०५६ सालमा उनी नेपाल सद्भावना पार्टीबाट सांसद भए । उनी पटक पटक मन्त्री बने ।

२०७४ सालमा भएको निर्वाचनमा पनि उनी सूर्य चुनावबाट निर्वाचन जिते । उनी केपी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत बने । आफ्नै क्षेत्रबाट चुनाव जिताएर पठाएका नेतालाई मन्त्रीको कुर्सीमा त देखियो तर, विकास देखिएन । अहिले स्थानीय जनताको गुनासो नै यहीँ छ ।

नवलपरासी क्षेत्रमा अहिलेसम्म एउटामात्रै राष्ट्रिय गौरवको आयोजना छ । ‘नवलपरासी–१ कुरा गर्दा पनि यहाँ प्रचर सम्भावना छ, तर हाम्रा नेताले कहिल्यै यो बुझेनन्’ स्थानीय भन्छन्, ‘बहुवर्षीय आयोजनाको रुपमा एउटा छ, त्यो बाहेक हाम्रा नेताले केही ल्याउन सकेनन् ।’ राष्ट्रिय योजना आयोगका एक उच्च कर्मचारी पनि नवलपरासी जिल्ला सम्भावना भएर पनि पछि परेको स्वीकार्छन् । अन्य क्षेत्रका नेताहरु योजनाको फाइल नै बनाएर आउने भए पनि त्यस क्षेत्रबाट जितेका नेता÷सांसदहरुले खासै चासो दिएको जस्तो नदेखिएको उनी बताउछन् ।

बिनोद चौधरीसँग आशा

बिनोद चौधरीले चुनाव जितेपछि भने यहाँका जनतामा केही आशा पलाएको छ । अब आफ्नो ठाउँमा केही विकास हुनेमा स्थानीयहरु आशावादी देखिन्छन् । चौधरीले पनि चुनाव जिते लगत्तै जनभावना अनुसार काम गर्न सक्रियता देखाएका छन् । उनी चुनाव जितिसकेपछि पनि पटक–पटक निर्वाचन क्षेत्र गए । स्थानीयका गुनासा र चाहानाहरु सुने ।

माघको पहिलो साता पनि चौधरी निर्वाचन क्षेत्र पुगे । चुनावको समयमा अफूले गरेका प्रतिवद्धतालाई कार्यान्वयन गर्नेका लागि उनले छलफल गरे । चौधरीले आइतबार मात्रै सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा पुगेर त्यहाँका स्थानीयसँग विकास निर्माण र स्थानीय समस्याकाबारे छलफल गरेका हुन् । छलफलका क्रममा स्थानीयले बाढी, डुवान र सिचाईको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

सरावल गाउँपालिका ६ का झिंकु सिंह चौधरीले डुवानले वर्षेनी समस्या हुने गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । ‘हामीले प्रत्येक वर्ष डुवानको समस्या झेल्दै आएका छौं । सरकारले सधैं आश्वासन मात्रै दिन्छ तर कहिल्यै पनि समस्या समाधानका लागि गम्भीर देखिएन,’ उनले भने, ‘तपाई सांसद निर्वाचित हुनुभएको छ । अब हाम्रो यो समस्या समाधान हुनेछ भन्ने आशा गरेका छौं ।’

त्यस्तै प्रतापपुर गाउँपालिका वडा नंं ५ का रामजी सिंहले सिचाईको समस्याबारे सांसद चौधरीलाई जानकारी गराएका थिए । ‘सिचाईको भरपर्दाे व्यवस्था नहुँदा किसानहरुले ठूलो समस्या भोग्दै आएका छौं, उनले भने, ‘सिचाँईको समस्या समाधानका लागि नहरमा नियमित पानी आउने व्यवस्था गरिदिनु परो ।’ सांसद चौधरीले आफूले निर्वाचनका बेला गरेका प्रतिवद्धता कार्यान्वयनका लागि प्रतिवद्ध रहेको प्रष्ट पारेका थिए । ‘हामीले चुनावका बेला जे जेति काम गर्छाैं भनेका थियौं । ति कार्यान्वयन गर्ने गरी काम सुरु गरिसकेका छौं । कतिपय कामको थालनी नै भइसकेको छ,’ उनले भने ।

चौधरीले पश्चिम नवलपरासीको दक्षिण भेगमा बर्षाेनी हुने डुवानको समस्या समाधानका लागि पहल भइसकेको जानकारी दिए । नेपाल सरकार र भारत सरकारबीच नै डुवान समस्याका बारेमा उच्चतहमा छलफल भइरहेको उनको भनाइ थियो । त्यस्तै निर्वाचन क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजनासहित खाका बनाउने काम पनि भइरहेको चौधरीले बताए ।

उनले निर्वाचन क्षेत्रको विकासका लागि व्यवस्थित कार्ययोजना बनाएर काम हुने गरिने स्थानीयलाई आश्वासन दिएका थिए । सोही अवसरमा प्रदेश सभा सदस्य सन्तु कलवारले यस क्षेत्रको बाढी तथा डुवानको समस्या समाधान गर्न प्रतिनिधिसभा सदस्य चौधरीसँग समन्वय गरेर आफूले पनि काम गरिरहेको जानकारी गराएका थिए ।


Krishi Bikas Bank
franklin 1200*150