कृषि विकास बैंकले ‘गुड फर पेमेन्ट’ चेक साटेन
वि.सं.२०७९ चैत ९ बिहीवार ०८:१४
shares

काठमाडौं, २० माघ । कृषि विकास बैंकले साट्नै पर्ने चेक ‘गुड फर पेमेन्ट’ नसाटेर ग्राहकलाई दुःख दिएको पाइएको छ । कृषि विकास बैंकको सप्तरीको बोदे बसाइन शाखा कार्यालयले ‘गुड फर पेमेन्ट’ चेक नसाटेर ग्राहकलाई फर्काएको पाइएको हो ।
‘गुड फर पेमेन्ट’ चेक काटिसकेपछि अनिवार्य रुपमा चेक साटिनै पर्ने व्यवस्था छ । अन्य साधारण चेक जस्तो यो चेक बाउन्स गर्ने वा फर्काउने गर्न बैंकले पाउदैन । तर, कृषि विकास बैंकका उक्त शाखाका शामा प्रमुख राम बचन यादवले ‘गुड फर पेमेन्ट’ चेक समेत फर्कादिएका हुन् ।
शाखा प्रमुख यादवले पनि आफूले ‘गुड फर पेमेन्ट’ चेक दिएको स्वीकार गरे । ‘गुड फर पेमेन्ट’ चेक फिर्ता गर्न नहुने र साट्नै पर्ने विषयमा आफू जानकार रहेको पनि उनले बताए । आफूबाट गल्ती भएको स्वीकार गर्दै उनले भने, ‘मबाट गल्ती भएको हो, केही दिनलाई रोकिदिनुस् सर, म केटाहरुलाई भनेको छु मिलाउछु ।’
के हो ‘गुड फर पेमेन्ट’ चेक ?
खातामा ईस्यूड रकम भएको र चेकमा लेखिएको रकम भुक्तानी गर्न सुनिश्चितता प्रदान गर्न भुक्तानी योग्य छ भनि सम्बन्धित बैंकले प्रमाणित गरेको चेकलाई गुड फर पेमेन्ट चेक भनिन्छ ।
यस्तो चेक बनाउनका लागि खातावालाले आफ्नो खातामा चेकमा जति चाहिने हो त्यति रकम बराबरको चेक काट्दछ । यस्तो चेकलाई बैंकले केहि शुल्क लिएर चेक पेमेन्ट गर्नु अघि सम्बन्धित ग्राहकको खाताबाट काटिएको चेक बराबरको रकम फ्रिज गरी बैंकले गुड फर पेमेन्ट भनी छाप लगाएर चेक उपलब्ध गराउँदछ । यस्तो चेक लिई आउनेलाई बैंकले दिइएको मितिमा भुक्तानी गर्नुपर्दछ ।
अरु चेकमा जस्तो गुड फर पेमेन्ट चेकमा भुक्तानी नहुने डर हुँदैन । किनकि, बैंकले यस्तो चेक जाँच गर्ने क्रममा नै खातामा मौज्दात भए नभएको, हस्ताक्षर वा मिति मिले नमिलेको, अंक र अक्षरमा फरक परे नपरेको लगायतका विषयमा यकिन गरिसकेको हुन्छ । यसर्थ, गुड फर पेमेन्ट चेकलाई वित्तीय कारोबारमा नगदसरह मान्यता र विश्वास गरिन्छ ।
अन्य चेक सटही गर्ने प्रक्रियासरह यस्तो चेकलाई सटही गर्न सकिन्छ । ‘गुड फर पेमेन्ट’मा बैंकको आधिकारिक व्यक्तिले हस्ताक्षर गरेको हुुनुपर्छ । कृषि विकास बैंकको चेकमा पनि शाखा प्रमुख यादवले नै हस्ताक्षर गरेका छन् ।
‘गुड फर पेमेन्ट’ चेक दिएपछि साट्नै पर्छ । नेपाल राष्ट्र बैंकका निर्देशक नारायण पोखरेलका अनुसार यो बैंक ज्ञारेन्टी नै हो । ‘गुड फर पेमेन्ट’ चेक दिएपछि कसरी हुन्छ बैंकले नै जिम्बेवारी लिएर चेकको रकम दिनुपर्ने निर्देशक पोखरेलले बताए ।








