सभामुखमा एमालेका देवराज घिमिरेको मनोनयन दर्ता

1.42K
shares
Krishi Bikas Bank

काठमाडौँ, ४ माघ । प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ, समर्थकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन छन् ।

विसं २०१३ मा ताप्लेजुङमा जन्मनुभएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनी प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनले विद्यार्थी सङ्गठनबाट राजनीति शुरु गरेका थिए ।
निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची आजै अपराह्न ४ः१५ बजे प्रकाशित गरिने छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।
त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।


Krishi Bikas Bank
franklin 1200*150