एभरेष्ट बैंकले भोलिबाट ऋणपत्र जारी गर्दै

1.39K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ पुस । एभरेष्ट बैंक लिमिटेडले भोलि सोमवारबाट १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गरिनेछ ।

बैंकले रू. १ हजार अंकित दरको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।

सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमध्ये पनि ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।

यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटोमा पुस २८ गतेसम्म विक्रीको मिति तय गरिए पनि सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा माघ ९ गतेसम्म विक्री अवधि लम्बिनेछ ।

बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।


Krishi Bikas Bank
franklin 1200*150