तुल्सीपुर ७ मा राष्ट्रिय परिचयपत्र अभियान, प्राथमिकतामा ज्येष्ठ नागरिक र अशक्त
वि.सं.२०७९ पुस १८ सोमवार १९:००
shares

दाङ १८ पुस । आइतबारदेखि राष्ट्रिय परिचयपत्र पाइने सूचना पाएका ज्येष्ठ नगरिकहरु वडा कार्यालयको प्रांगणमा जम्मा भइसकेका छन् । वडा कार्यालयको सूचनाअनुसार पहिलो एक हप्ताको समय ६० वर्षमाथिका ज्येष्ठ नागरिक र अशक्तहरुका लागि भनिएको छ ।
वडा सदस्य मानबहादुर राना उनीहरुको कागजात पर्याप्त छन् वा छैनन जानकारी लिने र आवश्यक सल्लाह दिनमा व्यस्त छन् । पालोअनुसार उहाँले यसरी नै १ हप्तासम्म काम गर्नुपर्ने छ ।
कार्यालयले ज्येष्ठ नागरिकहरु उपस्थितहरुमध्ये सबैभन्दा ज्येष्ठ नागरिक तुलसीपुर–७ खर्चवा दाङका ८० वर्षीय फत्तेलाल भुसाल र अशक्त ज्येष्ठ नागरिक ७३ वर्षीया नन्नसरी घर्तीको फाराम भरेर राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको हो ।
यद्यपि ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचयपत्रको बारेमा त्यतिधेरै जानकारी छैन तर पनि लठ्ठीको भरमा वडा कार्यालयसम्म पुगेर परिचयपत्र बनाउन लाइनमा छन् । उनीहरु भन्छन्– ‘खै, अरु त केही थाह छैन । अब सरकारले भत्ता दिंदा पनि यो कागज खोज्छ रे, त्यही भएर बनाउन आएका हौं ।’
वडाले परिचयपत्रका लागि फाराम भर्ने काम तीन ठाँउबाट सञ्चालन गरेको छ । व्यवस्थापन अनुकूल र सबै कागजातहरु ठीक भएमा एकजनाले दैनिक ४० जनासम्मको फारम भर्न सकिने विवरण दर्ता अपरेटर सुस्मिता चौधरीले जानकारी दिइन् ।
प्राविधिकहरुको सल्लाहलाई आधारमा वडा कार्यालयले दैनिक १ सय २० जनालाई टोक्कन वितरण गर्ने योजना बनाएको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसी बताउछन् ।
परिचयपत्र वितरणको काममा नागरिकहरुलाई सहजताका लागि बस्ने ठाँउ खानेपानी, शौचालयलगायतको उचित व्यवस्थापन गरिएको र आवेदकलाई दिनभर लाइन बस्नु नपरोस् भनेर टोक्कन सिस्टम लागु गरिएको अध्यक्ष जिसीले जानकारी दिए । ‘कागजपत्र मिलान गर्न नागरिकलाई झण्झटिलो नहोस् भनेर हरेक दिन पालोअनुसार जनप्रतिनिधि खटाएका छौं । मान्छेलाई दिनभरि लाइन बस्ने फुर्सद हुदैन ।
त्यसलाई मध्यनजर गर्दै बिहान कार्यालय समयमा टोक्कन वितरण गर्छौैं । त्यसपछि उहाँहरुले आफ्नो पालो आउने बेलासम्म कुर्नुभन्दा अन्य काम गरेर पनि आउन सक्नुहुन्छ ।’ उनले भने, ‘७ नं. भौगोलिक हिसाबले ठूला वडाहरुमध्येमा पर्छ । यो वडामा १२ हजारबढी जनसंख्या छ । वडाबाट वितरण गर्न थालिएको राष्ट्रिय परिचयपत्र वितरण अभियानबाट ७ हजारबढीले आवेदन भर्ने आ“कलन गरेका छौं । त्यसका लागि हामीले यो कामलाई करिब २ महिना सञ्चालन गर्नुपर्ने देखिन्छ ।’
हाल परिचयपत्र वितरण तुल्सीपुर ७ का नागरिकका लागि भए पनि अत्यावश्यक भएमा अन्य जिल्ला, पालिका वा वडाका नागरिकहरुलाई पनि फाराम भर्न सहयोग गरिने अध्यक्ष जिसीले बताए । परिचयपत्र वितरणको पहिलो दिन काम केही ढिला शुरु भएको थियो ।
जसअनुसार आइतबार ४३ बढीले आवेदन भरेका छन् भने छिमेकी जिल्ला सल्यानको छत्रेश्वरी गाँउपालिका १ का विनिता भुसालले पनि आवेदन भरेकी छिन् । सोमवार भने १ सय बढीले फाराम भरेका छन् ।








