महासंघले भेट्यो नवनियुक्त प्रधानमन्त्री, अर्थतन्त्र जोगाउने काम गर्न आग्रह
वि.सं.२०७९ पुस १२ मंगलवार १०:०२
shares

काठमाडौं, १२ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त सम्माननीय प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिएका छन् ।
प्रधानमन्त्री आफै पनि मुलुुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका वारेमा जानकार भएको र महासंघले पनि सम्माननीय प्रधानमन्त्री समक्ष यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको स्मरण गराए ।
अध्यक्ष गोल्छाले उद्योग व्यवसाय संचालनमा सबैैभन्दा बढी समस्याको रुपमा देखापरेको चालूपूँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव सो अवसरमा राखेका छन् ।
यतिखेर अरुकुरा भन्दा पनि मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिए ।
अर्थतन्त्रमा वहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरेका छन् ।
महासंघका अध्यक्ष गोल्छाले सम्माननीय प्रधानमन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुदै गएको यथार्थता राखिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भैसकेको जानकारी गराए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि बताएका छन् ।








