सिद्धार्थ बैंक र संसदका कर्मचारीबीच शंकास्पद कारोबार
संसद सचिवालय भन्छ– संलग्न व्यक्तिलाई सरुवा गरिसक्यौँ
वि.सं.२०७९ मंसिर २३ शुक्रवार ०७:४२
shares

काठमाडौं, २३ मंसिर । सिद्धार्थ बैंक र संसद सचिवालयका कर्मचारी बीच शंकास्पत कारोबार भएको कुरा सार्वजनिक भएको छ । संसद सचिवालयका कर्मचारीले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई लेखेको पत्रमा व्यक्तिको खाता नम्बरमा रकम जम्मा गर्नका लागि भनिएको छ ।
पत्रमा यतिसम्म भनिएको छ कि संसद सचिवालयका आफ्नो खाता नभएकाले व्यक्तिको खातामा रकम जम्मा गर्न भनिएको छ । तर संसद सचिवालयका प्रवक्ता राजनाथ पाण्डेले भने संसद सचिवालयको खाता रहेको बताएका छन् । संसद सचिवालयका सह सचिव इन्द्रविलास पौडेलको हस्ताक्ष रहेको पत्रमा करण बहादुर भाटको खातामा रकम जम्मा गर्न भनिएको छ ।
पत्रमा संसद सेवा दिवसको उपलक्ष्यमा सञ्चालन हुने कार्यक्रमका लागि रकम माग गरिएको छ । तर रकम माग्दा व्यक्तिको खाता नम्बरमा पठाउन भनिएको छ । जुन आफैमा अनौठो हो । संसद सचिवालयले गर्ने कार्यक्रममा व्यक्तिका नाममा पैसा माग्न मिल्छ ?
संसद सचिवालयको लेटरहेडमा लेखिएको पत्रमा हाजिरिजबाफ प्रतियोगिताका लागि रकम माग गरिएको छ । मंसिर १५ गते लेखिएको पत्रमा बैंकका सीईओलाई सहसचिव इन्द्रविलास पौडेलले आफूले रोजेको व्यक्तिको नाम, खाता नं. समेत उल्लेख गरी पैसा हालिदिन भनेका छन् ।
यदि संसद सचिवालयले गर्ने कार्यक्रम हो भने किन व्यक्तिको नाममा पैसा माग गरियो ? यस्तो कार्यले बैंक कमिसनमा रहेको वा कुनै प्रलोभनमा परेर यस्तो कार्य भएको सहजै अनुमान लगाउन सकिन्छ ।
कुनै पनि सरकारी निकायले व्यक्तिगत खातामा पैसा जम्मा गर्न नपाउने व्यवस्था रहेको छ । तर यो पत्रले यसको ठाडो उल्लंघन गरेको छ । के साच्चै संसद सचिवालयको बैंक खाता नै छैन् त ? अनि संसद सचिवालयले कर्मचारीलाई कसरी तलब खुवाइ रहेको छ । उपभोक्ता समितिको समेत बैंक खाता खोल्नु पर्ने व्यवस्था रहेको देशमा संसद सचिवालयको खाता नै नभएको उल्लेख गर्नु थप संकाको घेरमा परेको छ ।
पत्रमा खातावालको नाम भनेर बेग्लै व्यक्ति र सम्पर्क व्यक्ति भनेर अर्कै व्यक्तिको नाम खुलाइएको छ । सम्पर्क व्यक्ति भनेर नम्बर सम्मेत उपब्ध गराइएका निरज पन्थीले आफूलाई यो विषयमा कुनै पनि जानकारी नभएको जबाफ दिए । उनले आफू संसद सचिवालयको कर्मचारी पनि नभएको बताए । यसबाट यो सबै सेटिङका लागि त भएको होइन ? भन्ने प्रश्न खडा भएको छ ।
यस विषयमा बुझ्ने सिद्धार्थ बैंकका मुख्य गुनासो व्यवस्थापन अधिकारी सुरेशराज महर्जनलाई बारम्बार फोन गर्दा पनि उनको फोन उठेन ।
यो विषयमा बुझ्नलाई संसद सिचिवालयका प्रवक्ता राजनाथ पाण्डेलाई सम्पर्क गर्दा संलग्न व्यक्तिहरुलाई कारवाही भइसकेको जबाफ दिए । के कारबाहीभन्दा सरुवा । कर्मचारीलाई सरुवा गरेर अर्को शाखामा वा स्थानमा पठाउँदैमा यो समस्या समाधान हुन्छ त ।
यो कार्य गलत भएका कारण यो पत्र पठाउने कार्यमा संलग्न रहेकाहरुलाई कारवाही गरिएको र पत्र समेत फिर्ता लिइसकिएको संसद सचिवालयका प्रवक्ता राजनाथ पाण्डेले जानकारी दिए । के कारबाही भयो भन्ने प्रश्नमा प्रवक्ता पाण्डेले उनीहरुलाई जिम्मेवारीबाट हटाइएको र अर्को ठाउँमा सरुवा गरेको जबाफ दिए । संसद सचिवालयको बैंक खाता समेत रहेको उनले प्रष्ट पारे । तर त्यो पत्रमा आफ्नै खाता छैन भनिएको छ भन्ने हाम्रो प्रश्नमा खाता नहुने भन्ने पनि हुन्छ र भन्ने जबाफ उनको थियो ।








