बाराही हाइड्रोपावरको आईपीओ खुल्यो, क-कस्ले आवेदन दिन पाउने ?
वि.सं.२०७९ मंसिर २१ बुधवार ०९:५८
shares

काठमाडौं, २१ मंसिर । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजबाट आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको १ लाख ४ हजार कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा कुल ५ लाख ५४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ ।
सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । यीबाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरमा सर्वसाधारणले आवेनदन दिन सक्नेछन् ।
यो शेयर छिटोमा मङ्सिर २६ गतेसम्म विक्रीमा रहनेछ भने छिटो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि पुस ६ गतेसम्म विक्री लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको तथ्यांकलाई हेर्दा कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
आवेदकले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दै इक्रा एनपी इस्युअर रेटिङ बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।








