उद्देश्यबाट भाग्दै स्वरोजगार कोष, सहकारीको फाइल थन्काएर करोडौ रकम मुद्दति निक्षेपमा
वि.सं.२०७९ मंसिर २१ बुधवार ०८:००
shares

काठमाडौं, २० मंसिर । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवाहरुलाई स्वरोजगार बनाउन लगानी गर्दै आएको छ । यो कोषले युवालाई सिधै लगानी भने गर्दैन । कोषले ब्याजमा सहुलियत दिन्छ । यसकारण पनि यस संस्थाबाट युवाहरु ऋण लिएर उद्यमशील बन्न चाहान्छन् । सहकारी वा अन्य वित्तीय संस्थाहरुमार्फत कोषले लगानी गर्ने भएकाले युवाहरुले सिधै कोषमा जान पाउदैनन् । सयौँ युवाहरुलाई लगानी गर्न भन्दै ऋण माग गरेका सहकारी संस्थाहरुले भने ऋण पाएका छैनन् ।
कोषमा ऋण माग गर्ने मध्ये करिब एक सय सहकारी संस्थाहरुका लागि भदौ महिनामा नै ऋण स्वीकृत भएको थियो । कोषका अनुसार ऋण स्वीकृत भएका अधिकांश सहकारी संस्थाहरुले अहिलेसम्म पनि ऋण पाएका छैनन् । कोषले ऋण लगानी गर्न ढिलाइ हुनुमा रकमको अभाव र अन्य कारणहरु रहेको कोष कार्यकारी निर्देशक विश्व मोहन अधिकारी बताउछन् । हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण पनि कोषका काम कारबाही प्रभावित भएको उनको दावी छ ।
लगानीमा ढिलाइ हुनुको तेस्रो कारण भने कार्यालय स्थानान्तरण समेत भएको कोषका कार्यकारी निर्देशक अधिकारीको दावी छ । कोषको कार्यालय यसअघि काठमाडौंको अनामनगरमा थियो । हालै ललितपुरको कुपण्डोलमा सरेको छ । कार्यालय सरेका कारण पनि केही ढिलाइ हुन गएको अधिकारीले बताए ।
कार्यकारी निर्देशक अधिकारीले भने भन्दा वास्तविकता भने फरक रहेको कोष निकट श्रोत बताउछ । श्रोतका अनुसार कोष कमिसनको चक्करमा फसेको छ । केही बैंकमा मोटो रकम कोषले मुद्दति निक्षेपमा राखेको छ । नेपाली कांग्रेस निकट अधिकारी कोषमा आउनुपूर्व ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) थिए । ओम डेभलपमेन्ट बैंक एनएमबि बैंकमा गाभिएपछि अधिकारी भिआरएस लिएर बैंकबाट बाहिरिए । श्रोतका अनुसार एनएमबि बैंकमै कोषले करिब एक अर्ब रकम मुद्दति निक्षेपमा राखेको छ । कुमारी बैंक, मेगा बैंक लगायतका बैंकहरुमा समेत कोषले करोडौँ रकम निक्षेपमा राखेको छ ।
कोषका कार्यकारी निर्देशक अधिकारीले एनएमबि बैंकमा एक अरब रकम राखिएको आरोप भने खण्डन गरे । उनले ४–५ करोड रुपैयाँ भने मुद्दति निक्षेपमा रहेको स्वीकार गरे । उनले अन्य बैंकहरुमा समेत मुद्दति निक्षेपमा रकम रहेको स्वीकार गरेका छन् । कोषको रकम यसरी मुद्दति निक्षेपमा राख्ने र उद्यमशील बन्न चाहने युवाहरु(सहकारीमार्फत पेश) को फाइल भने थन्काएर राख्नुले संस्था उद्देश्यबाट भाग्दै गरेको पुष्टि हुन्छ ।








