भोलिबाट सुपर मादी हाइड्रोपावरको आईपीओमा आवेदन दिन पाइने
वि.सं.२०७९ मंसिर १९ सोमवार १४:५०
shares

काठमाडौं, १९ मंसिर । सुपर मादी हाइड्रोपावर लिमिटेडले भोलि अर्थात मंगलबारदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणमा कुल रू. ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ । अनुमति पाएको कुल कित्तामध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो ।
आयोजना प्रभावित स्थानीयमध्ये पनि अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता छुट्याएको छ ।
कम्पनीले सर्वसाधारणलाई बिक्री गरिने २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा गएका नेपालीहरूले रेमिट्यान्स बचत खातामार्फत आईपीओ भर्न सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा पुस ५ गतेसम्म यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । छिटो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि पुस २० गते सम्मको मिति लम्बिनेछ ।
त्यस्तै वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने पुस ५ गतेसम्म आवेदन दिन सक्नछन् । दुबै समूहका लगानीकर्ताले शेयर खरीदका लागि आवेदन दिदाँ न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ ।कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैं, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको निर्माण लाग निर्माण अवधिको ब्याज सहित कुल रू. ८ अर्ब ३५ करोड रहने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत भने रू. १८ करोड ९७ लाख ७२ हजार रहने अनुमान कम्पनीको छ ।








