यो साता २७ अंकले बढ्यो नेप्से परिसुचक, अर्को साता के होला ?
वि.सं.२०७९ मंसिर १७ शनिवार १०:५४
shares

काठमाडौं, १७ मंसिर । मंसिर महिनाको दोस्रो सातामा साता शेयर बजारमा केही मात्रामा सुधार आएको छ । यो साता नेप्से परिसुचक २७ दशमलव ५१ अंकले बढेको छ । अघिल्लो साता १९३३ को विन्दुमा रहेको शेयर बजार यो साता बढेर १९६१ को बिन्दुमा रोकिएको छ ।
सातामा भएको ५ कारोबारमध्ये ३ दिन शेयर बजार उकालो लागेको थियो भने दुई दिन ओरालो लागेको थियो । साताको पहिलो कारोबारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षासंगै उकालो लागेको थियो भने दोस्रो कारोबारको दिन घटेको थियो ।
दुई दिन शेयर बजार सामान्य अंकले घटेका कारण यो साता शेयर बजारमा वृद्धि भएको हो । नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि यो साता शुन्य दशमलव ७२ प्रतिशतले बढेको छ ।
गत साता दैनिक औषतमा १ अर्ब १० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता १ अर्ब ३३ करोडको शेयर कारोबार भएको छ ।
अर्थात २० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, यस साता दैनिक औषत कारोबार भएको शेयर संख्या ९.८७ प्रतिशत बढेको छ भने दैनिक औषत कुल कारोबार संख्या ९.८३ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत बढेको छ । गत साता २७ खर्ब ८१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३९ अर्ब रुपैयाँ बढेर २८ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।








