विद्यालय भवन निर्माण अलपत्र, चौरमै बसेर पढ्छन् विद्यार्थी
वि.सं.२०७९ मंसिर १४ बुधवार ११:२५
shares

दाङ, १४ मंसिर । विद्यालय भवन जीर्ण छ । वर्षायाममा पानी चुहिने, हिउँदमा कोठाभित्रै धुलो उड्ने र बेलाबेलामा खस्ने इँट्टा र सिमेन्ट बालुवाका टुक्राले चोट लाग्ने हो कि ? भनेर ज्यान जोगाइरहनुपर्ने अवस्था छ । पुरानो भवनमा बसेर पढ्दाका दुःख त छँदैछन् । त्यही पुरानो भवनमा पनि कोठा नपुग्दा चौरमै बसेर पढ्नुपर्ने अर्को समस्या थपिएको छ ।
एउटै कोठा बारेर कक्षा १ र २ बनाइएको छ । अनि विद्यालय भवनको बाहिरी आडमा डेस्क र बेञ्च राखेर एउटा कक्षा बनाइएको छ । जो कहिले ५ कक्षा बन्छ त कहिले ४ कक्षा ! आज बाहिरको कक्षामा पढ्ने पालो कक्षा ५ को हो । भोलि कक्षा ४ का विद्यार्थी बाहिर बस्नुपर्ने छ । यो गत तिहारयताको नियमित प्रक्रिया हो । ठेक्का सम्झौता भइसकेको विद्यालय भवन समयमै बन्न सकेन । भएका संरचना पर्याप्त नभएपछि दाङ तुलसीपुर–३ को आधारभूत विद्यालय रानागाउँका विद्यार्थीहरु कोही जोखिम मोलेर त कोही खुल्ला आकाशमुनी पढ्न बाध्य छन् ।
विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्मका कक्षाहरु सञ्चालन भइरहेका छन् । एलकेजी र युकेजीलाई एउटै कक्षामा गाभिएको छ । त्यसकारण कक्षा सञ्चालनका लागि मात्र १० वटा कोठा आवश्यक पर्छ तर हाल विद्यालय भवनमा जम्मा ८ वटा कोठा छन् । त्यो मध्ये एउटामा अफिस कोठा छ । विद्यालयका प्रधानाध्यापक खगेन्द्र खरेल भन्छन्, ‘१० वटा कक्षा सञ्चालन ७ वटा कोठाबाट गर्नु पर्दा विद्यार्थी बाहिर बस्नुपर्ने अवस्था आएको हो । हामीसँग भएको ५ कोठे भवन पनि पुरानो हो । जो जीर्ण भइसकेको छ । ठाउँठाउँमा भत्किएको छ । वर्षामा पानी चुहिने समस्या त छँदैछ । बेलाबेलामा सिलिङ र भित्ताबाट बालुवा र सिमेन्टका टुक्रा खस्छन् ।
विद्यार्थीलाई चोट लाग्ने हो कि भन्ने त्रास भईरहन्छ । नयाँ बन्ने भनेको भवनको अत्तोपत्तो छैन ।’ विद्यालय भवन बन्द नीतिगत रुपमा सम्बन्धित पालिकाको शिक्षा महाशाखा जानकारी हुनुपर्ने हो तर आवि रानागाउँमा निर्माण हुन थालेको उक्त भवनका बारेमा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखा जानकार छैन । महाशाखा प्रमुख चक्र भण्डारी भन्छन् ‘कति बजेटमा बन्दै छ ? कसले जिम्मा पाएको छ ? कहिलेसम्म निर्माण भइसक्नुपर्ने हो ? यि कुनै पनि जानकारी छैन मलाई । संघ र प्रदेशका बजेटमा बन्ने संरचनाहरुको बारेमा जानकारी हुन्थ्यो तर पालिकाकै बजेटबाट बन्न थालेरको रहेछ, मलाइ थाहा भएन ।’
कक्षा ५ सम्म अध्यापन हुँदै आएको विद्यालय २०७६ सालमा विद्यार्थी कम भएको भन्दै तुलसीपुर उपमहानगरपालिकाले मर्जको सूचीमा राख्यो । २०७७ सालमा स्थानीय युवाहरुले विद्यालय व्यवस्थापनको जिम्मेवारी सम्हाले विद्यार्थी संख्या बढाए । वडा सरकार विभिन्न निकायहरुसँग समन्वय गरी नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने वातावरण बनाए । गाउँकै सरकारी विद्यालयमा गुणस्तरीय पढाइ हुन थालेपछि सोही गाउँमा रहेको बोर्डिङ स्कूल पनि बन्द भयो ।
सरकारी विद्यालयबाट पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने सन्देश दिन अड्डी कसेका स्थानीयले २०७७ सालमै तुलसीपुर उपमहानगरपालिकाबाट कक्षा ६ को इजाजत लिए । विद्यार्थी संख्या पनि बृद्धि हुँदै गयो । गत वर्ष कक्षा ७ को इजाजत लिए र यो वर्षदेखि ८ कक्षा पनि सञ्चालन भयो तर गत जेठको अन्तिममा निर्माण भइसक्नुपर्ने विद्यालय भवनको हालसम्म बन्न नसक्दा पठनपाठनमा समस्या देखिएको प्रधानाध्यापक खरेल बताउछन् ।
तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन थालेको ४ कोठे भवनको २०७७ फागुन ७ गतेका दिन टेण्डर आह्वान भएको थियो । २०७९ जेठ २९ गतेभित्र सम्पन्न गर्ने गरी २०७८ असार ११ गते घोराही–१५ को राना ब्रदर्स कन्ट्रक्सनले जिम्मेवारी लियो ।
काम सम्पन्न गर्न १ महिना बाँकी रहँदा ठेकेदार कम्पनीले विभिन्न कारण देखाएर काममा ढिला भएको भन्दै म्याद थपका लागि निवेदन दियो । तुलसीपुर उपमहानगरपालिकाले ६ महिना म्याद थप पनि गरिदियो । जसको म्याद २०७९ कार्तिक मसान्तसम्म पुग्यो तर हालसम्म पनि विद्यालय भवनको शिलान्याश पनि हुन सकेन ।
हाल ठेकेदार कम्पनीका प्रोप्रइटर तिलक राना सम्पर्कविहीन भएको तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर नेवबहादुर केसी बताउछन् । उनी भन्छन्, ‘ठेकेदारले म्याद छँदासम्म हुन्छ, हुन्छ भन्नुभयो । म्याद सकिएपछि सम्पर्कविहीन हुनुभयो । अब उक्त कम्पनीलाई कालो सूचीमा राख्ने र जमानत जफत गरेर ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढ्छ । एउटा कम्पनीले गरेन भन्दैमा काम रोक्ने कुरा हुँदैन ।’
कसका कारण विद्यार्थी चौरमा ?
अहिले विद्यालयको अवस्था हेर्दा, यदि सबै प्रक्रिया पुगेकै छ भने विद्यार्थीहरु किन खुला चौरमा पढ्न बाध्य छन् ? शिक्षा महाशाखाले अनुगमन नै नगरी किन थप कक्षाको अनुमति दियो ? अनि विद्यालयले अभाव हुँदा पनि भौतिक संरचना पर्याप्त छन् भन्ने कागजात किन पेश गर्यो लगायतका प्रश्नहरु उठ्नु स्वभाविक हो ।
पालिकाले कक्षा थपको इजाजत दिंदा त्यहाँका भौतिक पूर्वाधारहरुको पनि जानकारी लिएर दिनुपर्ने हुन्छ । यदि पर्याप्त संरचना नभए इजाजत दिन मिल्दैन । आधारभूत विद्यालय रानागाउँले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार उनीहरुले पेश गरेका कागजका आधारमा प्रक्रिया पुग्ने भएर नै इजाजत दिइएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी बताउछन् ।
यद्यपि कक्षा थप हुँदा भौतिक संरचनाका विषयमा आफूहरुले कुनै पनि कागजात पेश नगरेको विव्यस अध्यक्ष चेतमान सेजुवाल बताउछन् । उनी भन्छन् ‘६ कक्षा थप हुँदा भौतिक संरचनाको विषयमा कुरा भएको हो तर ७ र ८ कक्षा थप हुँदा कुनै पनि कागजात पेश गर्नुपरेन । हामीले इजाजत माग्यौं, उपमहानगरपालिकाले दियो, यत्ति हो । हामीले भवन बन्ने मितिअनुसार इजाजत मागेका थियौं । इजाजत पायौं तर भवन बनेन ।’








