दलित बस्तीका मतदाता भन्छन् : ‘पानी दिनेलाई भोट’
वि.सं.२०७९ कात्तिक २७ आइतवार १४:४२
shares

काठमाडौं, २७ कात्तिक । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् ।
अघिपछि राजनीतिक दलका नेताहरु देखा पर्न मुश्किल हुने यो गाउँमा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीका प्रायः सबै राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारको लर्को लाग्ने गरेको छ । यहाँ पुग्ने सबै राजनीतिक दल र तिनका उम्मेदवारले विगतका निर्वाचनमा झैँ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यहाँको मुख्य खानेपानी समस्या समाधान गरिदिने प्रतिबद्धता जनाउने गरेका छन् । स्थानीय भने नेताहरुको वर्षौंदेखिको यो प्रतिबद्धता पूरा नभएको भन्दै यस पटकको निर्वाचनमा गाउँमा जसले पानी ल्याइदिने ग्यारेन्टी दिन्छ उसैलाई मात्र मत दिने निर्णयमा पुगेका छन् ।
चुनावको मुखमा दैनिकजसो विभिन्न दलका नेता भोट माग्न आउने गरेका छन् । अभावै अभावमा गुज्रिएको पुरण्यका समस्या समाधान गर्ने प्रतिबद्धतासहित ढोकाढोकामा आएर नमस्कार गरेका नेताहरूलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पछि पहिलो पटक गाउँमा देख्न पाएका छन् यहाँका मतदाताले । स्थानीय तहमा भोट माग्न गाउँमा आएका उम्मेदवारले दिएको एउटा आश्वासन पूरा नभएको ६४ वर्षीय पूर्णबहादुर दर्जीले बताए ।
एक घण्टाको यात्रा गरी खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको भन्दै नेताहरूले दलितलाई सधैँ भोट माग्ने मतदाताका रुपमामात्रै प्रयोग गरेको स्थानीयको गुनासो छ । सदरमुकाम नजिकै रहेको यो बस्तीमा न खानेपानी छ न त सबै घरमा शौचालय नै छ । विगतमा जितेका जनप्रतिनिधिका आश्वासनबाट आजित भएका स्थानीयले उल्टै आश्वासन पाउन थालेका छन् । एक गाग्री पानी लिनका लागि एक घण्टाको समय खर्चिन पर्ने समस्यामा यहाँका नागरिक छन् ।








